खबर

डडेल्धुरामा दुई महिना निःशुल्क सेवा दिएर बझाङ पुगे डा गोविन्द केसी

ललित बोहरा

डडेल्धुरा- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी डडेल्धुरा अस्पतालमा दुई महिना निःशुल्क सेवा दिएर बझाङ पुगेका छन्।

डडेल्धुरामा ६५ दिन निःशुल्क सेवा पूरा गरेका डा. केसीले बिहीबारदेखि जिल्ला अस्पताल बझाङबाट निःशुल्क सेवा सुरु गरेको अस्पताल स्रोतले जनाएको छ। उनी त्यहाँ करीब एक हप्ता काम गर्ने बुझिएको अस्पतालले जनाएको छ। गत फागुन २० गते निःशुल्क रुपमा सेवा गर्न उनी डडेल्धुरा पुगेका थिए।

केसी एक अर्थोपेडिक सर्जन (हाडजोर्नीका शल्यचिकित्सक) हुन्। डडेल्धुरा रहँदा हाडजोर्नीसम्बन्धी समस्या भएका धेरै सुदूर पहाडबासीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए। डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार केसीबाट सेवा लिन डडेल्धुरासहित बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गर्थे।

अस्पताल प्रशासनका अनुसार डा केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजार बढी सामान्य केस र करीब ४ सयको हाराहारीमा अप्रेशन गरेका थिए। यद्यपि उनले कति बिरामी जाँचे भन्ने यकीन तथ्यांक नरहेको अस्पतालले जनाएको छ। अर्थोपेडिक वार्डमा अन्य चिकित्सक समेत भएको हुँदा डा. केसीले मात्रै चेकजाँच गरेको तथ्यांक नरहेको सूचना अधिकारी पन्तले जानकारी दिए।

लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भीड लाग्ने गरेको थियो। तर लकडाउनका कारण बिरामीको चाप भने केही कम भएको थियो। धेरैजसो बिरामीले उपचार गर्न आउँदा डाक्टर केसीलाई भगवानको संज्ञा दिने गरेको अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टले बताए। ६५ दिन डडेल्धुरा अस्पतालमा सेवा प्रदान पश्चात सुदूरपश्चिमको विकट जिल्ला बझाङ गएको उनले जानकारी दिए।

‘दुई महिने निःशुल्क सेवा दिएर हिजोमात्रै उहाँ (केसी) बझाङ जानुभएको छ। अब केही दिन उतै सेवा दिनुहुन्छ‚’ उनले भने। दिनमा एक छाकमात्रै खाना खाने गरेका डाक्टर केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधि समेत किनिदिने गरेको भट्टले बताए।

उनका अनुसार डा.केसीले ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पताललाई दिएका छन्। मिडियाबाट टाढै रहने केसीको अब डडेल्धुरा बाहेक अन्य पहाडी जिल्लामा घुम्ने योजना रहेको भट्टले बताए।

दिउँसो अस्पतालको कामबाहेक केही नबोल्ने उनी बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्थें। अस्पतालका कर्मचारीसँग नमस्ते बाहेक नबोल्ने र एकदमै शान्त स्वभावका उनले काम बाहेक अन्य केही कुरा नगरेको अस्पतालका सूचना अधिकारी पन्तले बताए।

यहाँ रहँदा डडेल्धुरास्थित कीर्तिपुरको एउटा घरमा डा केसीको कोठा थियो। करीब १० मिनेट हिँडेपछि उनको गन्तव्यमा पुग्थे त्यो हो डडेल्धुरा अस्पताल। कीर्तिपुर बजार डडेल्धुराको अमरगढी नगरपालिका- ५ सदरमुकाममै पर्छ।

बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारबाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो। उनले उक्त समयमा भारतले नेपाली भूमि कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै अनसन स्थगित गरेका थिए।

२६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले उठाएका मागहरू हालसम्म सम्बोधन भएका छैनन्।

केही केसीले लकडाउनका कारण यातायात बन्द हुँदा मारमा परेका बिरामीहरुलाई सरकारी गाडीको प्रयोग गरेर अस्पतालसम्म पुर्‍याउन आग्रहसमेत गरेका थिए। ९ वैशाखमा प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवा महत्वपूर्ण भएको भन्दै केसीले यस्तो आग्रह गरेका थिए। अहिलेको अवस्थामा एम्बुलेन्सहरु मात्रै सबै बिरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त नभएको भन्दै उनले सो माग गरेका हुन्। तर, उनका माग सरकारले सुनेन्।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button