
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण गएको दुई महिनादेखि स्थगित भएको जर्मन बुन्डेस लिगा १६ मेबाट शुरु हुने भएको छ । जर्मन सरकारले खेलकुद गतिविधि सुचारु गर्न अनुमति दिएपछि जर्मन फुटबल संघले १६ मे बाट रोकिएको लिग सुचारु गर्ने निर्णय गरेको हो ।
लिग २७ जुनसम्म चल्नेछ । जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले बुन्डेस लिगाको खेल तालिका सार्वजनिक गर्दै शनिबार ६ वटा खेल हुने बताएका छन् । जस अनुसार १६ मे मा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले छैटौं स्थानमा रहेको साल्केसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिन डर्टमन्ड र साल्केसँगै अन्य पाँच खेल पनि हुनेछ ।
अग्सवर्ग र वुल्फवर्ग, डुसेलडर्फ र पाडेरवर्न, आरबी लाइप्जिग र फ्रेइवर्ग, होफेनहाइन र हर्था बर्लिन तथा फ्रन्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन कोलिन र मेइन्ज तथा युनियन बर्लिन र शीर्षस्थानको बायर्न म्युनिखबीच खेल हुनेछ । त्यसपछि वेर्डर ब्रेमेन र बायर लिभरकुसेनबीच प्रतिस्पर्धा हुनेछ । खेल ‘क्लोज डोर’ मा नै हुनेछ । शुक्रबार कुनै खेल नहुने जर्मन एफएले जनाएको छ ।
बुधबार मात्रै जर्मन सरकारले दुई शीर्ष डिभिजनका ३६ क्लब मेको दोस्रो हप्ता खेल्न योग्न हुने बताएको थियो । कोरोना रोकथामको उल्लेख्य सुधार गरेको जर्मनीले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ । सोही कारण उसले शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता खेल्न समेत अनुमति प्रदान गरेको हो । उसले मानिसबीच साढे १ मिटर दुरी कायम राख्न समेत निर्देशन दिएको छ ।
शीर्षस्थानमा रहेको बायर्नको २५ खेलबाट ५५ अंक छ । समान खेलबाटै डर्टमन्डको ५१ अंक छ । यि दुई टोलीबीच मात्रै चार अंकको अन्तर छ । बेर्डर ब्रेमेन र पाडेरवर्न रेलिगेसन जोनमा रहँदा डुसेलडर्फ रेलिगेसन क्वालिफिकेसन खेल्ने जोनमा छ ।hamrokhelkud/from



