स्वास्थ्य

गणितीय व्यवस्थापन विधिबाट मात्र सम्भव छ कोरोना नियन्त्रण

किशोर खनाल

गणित एउटा चमत्कारिक विज्ञान। मानव सभ्यता जत्तिकै पुरानो। मानव सभ्यतासँगसँगै हुर्केको अनि मानवको सारा खुल्दुली मेटाउने एक अचुक शास्त्र।

गणितशास्त्र जत्तिको तार्किक शास्त्र कुनै पनि छैन। जीव विज्ञानको होस् कि खगोल विज्ञान, जमिन होस् कि अन्तरिक्ष अनि मानव मनोविज्ञान होस् कि भाषा विज्ञान, कम्पुटर होस् कि क्याल्कुलेटर, भौतिक विज्ञान होस् कि समाज विज्ञान, अर्थशास्त्र, बित्तशास्त्र सबै विधामा आजकल अधिकतम गणितको प्रयोग हुन्छ।

ठोस वस्तुवादी दृष्टिकोणबाट कुनै पनि समस्या हल गर्नुपर्ने अवस्थामा गणितीय विधि नै प्रयोग गर्नुपर्ने हुन्छ। समस्याको सही पहिचान गरी समस्या समाधान गर्ने क्रममा गणितले तथ्यांकशास्त्रको सहयोग लिन पनि सक्छ, नलिन पनि सक्छ। प्राय:जसो गणितीय विधिको प्रयोग गरी प्रतिपादित सिद्धान्त तथा समाधानका सूत्रले वास्तविक संसारमा काम गरेको छ कि छैन, यकिन गर्नको लागि तथ्यांकशास्त्रको मद्दत लिनुपर्छ। गणित तथा तथ्यांकशास्त्र त्यही भएर अनुसन्धानको क्रममा सँगसँगै आउने गर्छन्।

जीव विज्ञान तथा चिकित्साशास्त्रमा गणित तथा तथ्यांकशास्त्रको प्रयोगको इतिहास धेरै पुरानो छैन। तर पनि संखिकी इपिडियोमोलोजीको जन्मसँगसँगै गणित तथा तथ्यांकशास्त्रको प्रचलन चिकित्साशास्त्रमा व्यापक बढ्दै गएको पाइन्छ। यी दुईको प्रयोगले चिकित्साशास्त्रका तथ्य अवलोकनमा आधारित अनुसन्धानलाई वस्तुगत ढंगले विश्लेषण गर्दै वैज्ञानिक निष्कर्ष निकाल्न सहयोग पुर्याईउँछ। त्यसको अलावा, अनुसन्धानको प्रारूपलाई पनि परिस्कृत तथा वैज्ञानिक बनाउँछ। चिकित्साशास्त्रको अर्को पाटो व्यवस्थापन पनि हो। स्वास्थ्य व्यवस्थापन अत्यन्तै जटिल विधा हो। स्वास्थ्य व्यवस्थापन, व्यवस्थापनको सिद्धान्तमा आधारित हुन्छ। व्यवस्थापन भनेको कला र विज्ञान को संगम हो।

वैज्ञानिक व्यवस्थापन गणित तथा तथ्यांकशास्त्रमा आधारित हुन्छ। संकलित तथ्यांकको सही संश्लेषण तथा विश्लेषण गर्दै व्यवस्थापनको सिद्धान्तमा आधारित भई गणितीय नमुनाको उचित प्रयोग गर्दै व्यवस्थापनका वैज्ञानिक विधि तय गरिन्छ। अपरेसनल मेनेजमेन्ट को नामद्वारा यो विधिलाई चिनिन्छ। यसमा अधिकतम लिनिएअर तथा नन्लिनिएअर प्रोग्रामिङ विधिका साथ साथै डाइनामिक प्रोग्रामिङ, डिफिरेनसियल इकुवेसन जस्ता अत्याधुनिक तरिकाबाट व्यवस्थापनका विधिको निर्माण गरिन्छ र त्यसलाई नियम बनाई कार्यान्वयन गरिन्छ। युद्धमा पनि त्यही विधि अपनाइन्छ।

आजको आवश्यकता त्यही वैज्ञानिक व्यवस्थापकीय विधलाई जोड दिनु हो। तसर्थ, सरकारले तुरुन्तै, व्यवस्थापनका विज्ञ, इपिडिइओमोलोजिस्ट, गणीतशास्त्री, तथ्यांकशास्त्री, स्वास्थ्य व्यवस्थापन विज्ञ तथा अर्थशास्त्रीहरुको सामूहिक विज्ञ समूहको निर्माण गरी आपतकालीन व्यवस्थापनका विधिको निर्माण गरी तत्काल लागू गर्न सकेको खण्डमा मात्र कोरोना भाइरसको प्रकोप तथा फैलावटलाई नियन्त्रण गर्न अत्यधिक सफल भइन्छ। नत्र भविष्यमा पछुतो मात्र हुन्छ।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button