ललितपुर। गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास आजदेखि रद्द गरेको छ ।
मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।
गृह मन्त्रालयका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो , उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा समेत पासलाई अनिवार्य गरिएको छ ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहमन्त्रालयले जनाएको छ ।



