खबर

अनलाइन कक्षाको शुल्क नलिन आग्रह

ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षामा कुनै शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समयमा अनलाइनबाट कक्षा सञ्चालन गरेका केही विद्यालयले शुल्क उठाउन थालेपछि सरकारले सो आग्रह गरेको हो ।

निजी विद्यालयले घरमा बसेका आफ्ना विद्यार्थीलाई पढ्ने वातावरण बनाउन भन्दै करिब दुई सातादेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ। विद्यालय सञ्चालकले कुनै पनि शुल्क नलिने उल्लेख गर्दै अनलाइन कक्षा शुरू गरेको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन कक्षा शुरू गरे पनि त्यसको शुल्क नलिन आग्रह गर्नुभयो ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले लकडाउन सकेर विद्यालय नखुलेसम्म कुनै प्रकारका शुल्क नलिने र विद्यालय शुरू भएपछि पुनः पठनपाठन शुरू गर्ने तयारीसहित अनलाइन कक्षा सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘विद्यार्थीको मन बहलाउनका लागि मात्र कक्षा सञ्चालन गरेका हौं ।’ प्याब्सनले त्यसो भनिरहँदा केही विद्यालयले भने ५ घन्टासम्म अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।

छाउनीस्थित संस्कृति स्कुलले करिब ५ घन्टासम्म अनलाइन कक्षा सञ्चालन गरेर विद्यार्थीलाई तनाव दिएको एक अभिभावकले बताका छन् । ‘मेरी छोरी चार कक्षामा पढ्छिन्, उनलाई ५ घन्टासम्म अनलाइनमा पढाएर तनाव दिन थालेको छ ।’ –नाम नबताउने सर्तमा एक अभिभावकले भने ।

तर, अधिकांश निजी विद्यालयले करिब दुई घन्टासम्म मात्र पढाउँदै आएको जनाएको छ । हिसानका महासचिवसमेत रहेका जेभियर्स स्कुलका प्रमुख कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले विद्यालय नखुलुन्जेलसम्म बानी पार्नका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘रुटिन बनाएर दिनमा दुई वा तीनवटा कक्षा सञ्चालन गरिरहेका छौं ।’

त्यसै गरी ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठले विद्यार्थीको सहजताका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘शिक्षकलाई समेत तालिम दिएर केही समयका लागि कक्षा सञ्चालन गरिरहेका छौं ।’

उहाँले यस्तो अवस्थामा शुल्क नलिइकनै कक्षा सञ्चालन गर्नुपर्ने बताउँदै भन्नुभयो– ‘अहिले त करिब आफ्ना विद्यार्थीलाई लकडाउनमा पनि प्रविधिसँग जोडेर पढ्ने बानी बसाल्न अनलाइन कक्षा सञ्चालन गरेका हौं ।’

प्याब्सन अध्यक्ष पुरी अध्यक्ष रहेको विराटनगरको एभरेस्ट स्कुलले पनि अनलाइन कक्षा सञ्चालन गरेको छ । लकडाउनको समयमा विद्यालयलाई हाजिर गराउने वातावरण कायम गर्न केही समयका लागि अनलाइनबाट कक्षा लिन थालेको विद्यालयले जनाएको छ ।

प्याब्सनका अनुसार करिब ४० प्रतिशत विद्यार्थीले अनलाइन कक्षा लिने गरेको प्रारम्भिक तथ्यांक छ । प्याब्सनका उपाध्यक्ष टीआर ढकालले विद्यार्थीलाई पाठ्यक्रमको बारेमा जानकारी दिन र पढ्ने बानी बसाल्न अनलाइनबाट कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन कक्षालाई व्यवस्थितरूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको समितिले दिएको प्रतिवेदनको आधारमा काम शुरू गर्ने बताउनुभयो ।

सो समितिले अहिले विकल्पसहित कसरी पढाउने भन्ने विषयमा अध्ययन गरिरहेको छ । प्रवक्ता शर्माले अनलाइन कक्षा पढाइको माध्यम नभई विद्यार्थीलाई प्रविधिसँग नजिक बनाउने मात्र भएको बताउनुभयो । अधिकांश विद्यालयले गुगल जुमएप डाउनलोड गरी कक्षा सञ्चालन गरिरहेको छ ।

प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले शहरोन्मुख अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । रेडियन्ट स्कुलका अध्यक्ष ढुंगानाले आफ्ना विद्यार्थीका लागि सूचना र प्रविधिमा केही नजिक बनाउन कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button