
एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब युभेन्टसका फरवार्ड गोन्जलो हिगुआइन यसै साता इटली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षण थालेको झन्डै दुई सातापछि हिगुआइन इटली फर्कन लागेका हुन् ।
हिगुआइन टुरिन फर्किएपनि उनी दुई साता क्वारेन्टिनमा बस्नुपर्ने छ । उनले दुई साताको क्वारेन्टिन बसाईपछि कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ देखिएमा मात्रै टोलीसँगको प्रशिक्षणमा सामेल हुन पाउनेछ ।
हिगुआइन इटलीमा लकडाउन शुरु भएदेखि नै अर्जेन्टिना फर्किएका थिए । उनले आफ्नो आमाको स्वाथ्यमा देखिएको समस्याका कारण लकडाउन र महामारीको बीचमा पनि इटली छाडेर ब्युनर्स आयर्स पुगेका थिए । उनी प्रशिक्षणका लागि इटली फर्कने युभेन्टसका अन्तिम खेलाडी हुन् ।
हिगुआइन आज शुरुक्रबार टुरिनमा पुग्ने र दुई हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ । क्वारेन्टिन अवधि पुरा भएपछि उनी क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र युभेन्टसका टिमसँगको प्रशिक्षणमा जान अनुमति पाउनेछन् । १३ जुनबाट इटालियन सिरी ‘ए’ हुने तयारी गरिरहँदा क्लबहरुले यसअघि नै प्रशिक्षण थालिसकेका छन् ।
३२ वर्षीय हिगुआइनले प्रशिक्षक मौरिसियो सार्रीको डेब्यु सिजनमा पहिलो रोजाईका स्थान बनाउन सकिरहेका छैनन् । उनले १६ खेलमा मात्रै पहिलो रोजाईमा अवसर पाउदा ५ गोल गरेका छन् । उनले टोलीमा पहिलो रोजाईमा स्थान बनाउन अझै मिहेनत गर्नुपर्ने देखिन्छ । अर्जेन्टिनी क्लब रिभर प्लेटमा उत्कृष्ट प्रदर्शन गरेपछि हिगुआइन २००६ मा स्पेनिस महारथी रियल म्याड्रिडमा पुगेका थिए ।
पछिल्लो समय युभेन्टसले हिगुआइनलाई रिलिज गर्ने तयारी गरिरहेको छ । तर, उनका बुवा जर्जले हालका लागि युभेन्टस नै हिगुआइनको सही गन्तव्य रहेको बताएका छन् । ‘युभेन्टसमा उनको सम्झौता अझै बाँकी छ । तर, यो हिगुआइनको निर्णयमा नै भर पर्नेछ । उनी युभेन्टसमा अझै बस्न चहान्छन् । केही अफवाह फलिएका छन् । त्यसमा कुनै आधिकारिकता छैन ।’ रिभर प्लेटका निर्देशक इन्जोले भने ।hamrokhelkud/from



