
एजेन्सी – एफसी कोल्नमाथि सहज जित निकाल्दै आरबी लाइप्जिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।
सोमबार राति भएको खेलमा लाइप्जिगले घरेलु टोली कोल्नमाथि ४–२ को सहज जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।
जितसँगै लाइप्जिगले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डसँगको अंक दुरी २ मा झारेको छ । लाइप्जिगको २९ खेलबाट ५८ अंक पुगेको छ । डर्टमुन्डको ६० अंक छ । पराजित कोल्न ३४ अंकसहित ११औं स्थानमा छ । शीर्षस्थानको बायर्न म्युनिखको ६७ अंक छ ।
कोल्नमा भएको खेलमा लाइप्जिगको सहज जितमा प्याट्रिक, क्रिस्टोफोर एनकुन्कु, टिमो वेर्नर र ड्यानियल ओल्मोले गोल गरे । घरेलु टोलीका जोन कोर्डोवा र एन्थोनी मोडेस्टेले गोल गरे । खेलको सातौ मिनेटमा कोर्डाेवाको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । २०औं मिनेटमा प्याट्रिकले बराबरी गोल फर्काए । ३८औं मिनेटमा क्रिस्टोफोरले गोल गरेपछि लाइप्जिगले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
५०औं मिनेटमा वेर्नरले गोल गर्दै लाइप्जिगलाई ३–१ ले अघि बढाए । बुन्डेस लिगामा वेर्नरको यो २५औं गोल हो । ५५औं मिनेटमा एन्थोनीले गोल गरेपछि खेल ३–२ को प्रतिस्पर्धात्मक मोडमा पुगेको थियो । तर, त्यसको दुई मिनेटपछि नै ओल्मोले गोल गर्दै लाइप्जिगलाई ४–२ को सहज जित दिलाए ।hamrokhelkud/from



