खेलकुद

युभेन्टसलाई हराउँदै नेपोली कोप्पा इटालिया च्याम्पियन

अषाढ ४, २०७७

एजेन्सी – लिग च्याम्पियन युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपोलीले युभेन्टसमाथि टाइब्रेकरमा ४-२ को जित दर्ता गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । युभेन्टसको १४ औं पटक कोप्पा इटालिया उपाधि जित्ने लक्ष्य सफल नहुँदा नेपोलीले भने ६ वर्षपछि उपाधि खडेरी तोड्न सफल रहयो । बुफोनले खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेपनि युभेन्टस पराजित हुन पुग्यो ।

टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नेपोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए । युभेन्टसको लागि ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा निकै माथि आकासिएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए । नेपोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।

खेलको २६ औं मिनेटमा नेपोली अग्रता लिनबाट चुकेको थियो । फरवार्ड लोरेन्जो इन्सिग्नेको फ्रिकिक प्रहार पोस्टमा लाग्दा युभेन्टस जोगिएको थियो । रोड्रीगो बेन्टान्कुरले फल गरेपछि प्राप्त फ्रिकिकमा इन्सिग्नेले सिधै गोलको प्रयास गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर नेपोलीले अर्को अवसर गुमायो । ड्रिज मर्टेन्सको पासमा इन्सिग्नेको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले डाइभ दिँदै बचाए । त्यसको लगत्तै मिडफिल्डर डिएगो डेम्मेको प्रहारलाई बुफोनले खुट्टाले विफल पारे ।

पहिलो हाफको इन्जुरी समयमा बुफोनले अर्को उत्कृष्ट बचाउ गरे । उनले पुन: एकपटक इन्सिग्नेको प्रहारलाई नै गोल हुनबाट रोकेका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा खेल सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरेपनि गोलरक्षक बाधक बनिरहे । ८३ औं मिनेटमा इन्सिग्नेकै प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपोली अभागी सावित भयो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनले बुफोनलाई समस्या दिन सकेनन् ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा बुफोनले युभेन्टसलाई पुन: जोगाए । माक्सिमोभिचको हेडरलाई उत्कृष्ट ढंगले बचाएका बुफोनले ६ यार्ड बक्सभित्र भिडमा तीन प्रहारलाई गोल हुनबाट रोकेका थिए । यसक्रममा नेपोलीको एक प्रहार भने पोस्टमा समेत लागेको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button