
अशोक भट्टाचार्यको स्वास्थ्यमा सुधार
सिलगढी : कोरोना संक्रमित भएका सिलगढी नगरनिगम प्रशासक तथा विधायक अशोक भट्टाचार्यको शारीरिक अवस्था हाल स्थिर रहेको अस्पताल सूत्रले जनाएको छ। गत तीन दिनअघि बिरामी भएर तिनलाई सिलगढी मतिगढाको एउटा नर्सिङ होममा भर्ना गरिएको थियो। यसको साथै तिनको राल नमूनाको जाँच गर्दा रिपोर्टमा कोरोना संक्रमित भएको पुष्टि गरिएको थियो। तिनको चिकित्साको दायित्वमा नर्सिङ होमका डाक्टरले बताएअनुसार हाल अशोक भट्टाचार्यको शारीरिक अवस्था स्थिर रहेको छ भने अहिले ज्वरो पनि घटेको छ साथै प्रेशर अनि सुगर पनि नियन्त्रणमा रहेको छ। यसको साथै हाल अक्सिजन दिएर आईसीयु आइसोलेसनमा तिनलाई राखिएको छ भने तिनको स्वास्थ्यमा लगातार सुधार भइरहेको बताइएको छ।
भूतपूर्व सैनिकद्वारा शहीदहरूलाई श्रद्धाञ्जलि

खरसाङ : खरसाङ गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन अनि इन्डियन एक्स सर्भिस म्यान लिगका सदस्यहरूले आज चीन र भारतमाझ भएको संघर्षमा शहीद भएका देशका जवानहरूलाई श्रद्धाञ्जली अर्पण गरे। यस कार्यक्रममा भूतपूर्व सैनिकका परिवार तथा यससँग सम्बन्धित व्यक्तिहरूले शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। श्रद्धाञ्जलि कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै भूतपूर्व गोर्खा सैनिक वेलफेयर एसोसिएसनका सचिव शम्भु राईले चीनको यस्तो कायरतापूर्ण कार्यको भर्त्सना गर्नको साथै यदि चीनसितको लडाइँ शुरू भए गोर्खा भूतपूर्व सैनिकहरू साथ दिन पछि नहट्ने बताए। भूतपूर्व गोर्खा सैनिकका परिवारका सदस्यहरूले पनि चीनको उक्त कायरतापूर्वक व्यवहारको घोर विरोध गर्दै शहीदका परिवारप्रति सहानुभूति राख्दै श्रद्धञ्जलि चढ़ाए।
सिलगढी वेलफेयर अर्गनाइजेशन-द्वारा विभिन्न माग लिएर विरोध प्रदर्शन

सिलगढी : कोरोना संक्रमितहरूको संख्या राज्यभरिमै लगातार बढ्दै गइरहेको छ। यस्तो परिस्थितिमा सिलगढी वेलफेयर अर्गनाइजेशनले स्वास्थ्य प्रणालीमा सुधार ल्याउने मागलाई लिएर आज सिलगढीमा एउटा विरोध र्याली निकाल्यो। आज संगठनका सदस्यहरूले विभिन्न मागलाई लिएर सिलगढीको हस्पिटल मोडमा विरोध प्रदर्शनी गरे। यहाँको विभिन्न क्वारेन्टाइन सेन्टरहरूमा भोजनको कमी रहेकोले त्यहाँ पर्याप्त मात्रामा निःशुल्क भोजनको व्यवस्था गरिनुपर्ने लगायत विभिन्न मागहरूलाई लिएर संगठनले आवाज उठाए। कोरोना भाइरसलाई लिएर मानिसहरूको मनबाट डर हटाउनको लागि सरकारी रूपमा संस्थानहरूको स्थापना गरिनुपर्ने साथै कोरोना पीड़ित परिवारलाई हेलाहोचो नगरेर सहयोग गर्नुपर्ने तिनीहरूले बताए। यस प्रदर्शन अवधि संगठनको तर्फबाट तिनीहरूले अन्य विभिन्न मागहरू पनि गरे।
शहीद जवान विपुल रायको आज अन्तिम संस्कार

सिलगढी : हालै चीनसितको संघर्षमा शहीद भएका भारतीय सेनाका जवान विपुल रायकी स्वास्नी र छोरी आज दिउँसो बाघडुग्रा हवाईअड्डामा आइपुगिन्। शहीद जवान विपुल राय अलिपुरद्वार निवासी रहेको तथा तिनी मेरठमा आफ्नी स्वास्नी र छोरीसँग बस्दै आइरहेका थिए। तर भर्खरै केही दिन अघि मात्र तिनको लद्दाखमा पोस्टिङ भएकोले त्यहाँ ड्युटीमा कार्यरत अवधि चीनसितको संघर्षमा तिनले आफ्नो देशको निम्ति प्राणको आहुति दिए। हिजो तिनको पार्थिव शरीर राष्ट्रिय सम्मानको साथमा भारतीय सेनाका जवानहरूले अलिपुरद्वारस्थित तिनको घरमा ल्याइपुर्याइयो। तथापि, तिनका स्वास्नी र छोरी मेरठमै रहेकोले गर्दा आज तिनीहरू विमान मार्फत् बाघडुग्रा हवाईअड्डा आइपुगेपछि सड़क मार्ग हुँदै आफ्नो घर अलिपुरद्वार प्रस्थान गरे। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार शहीद विपुल रायको अन्तिम संस्कार आज तिनै पैतृक स्थलमा राजकीय सम्मानको साथमा गरिने भएको छ।jun,19,siliguritimes/from,india



