मूल खबर

कांग्रेसको निष्कर्ष: वैवाहिक अंगिकृत नागरिकताका लागि सात वर्षे प्रावधान मान्न नसकिने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैवाहिक अंगिकृत नागरिकताका लागि सात वर्षे प्रावधान मान्न नसकिने निष्कर्ष निकालेको छ।

शनिबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलपछि कांग्रेसले वैवाहिक नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रस्ताव संविधान विपरित भएको समेत ठहर गरेको छ।

कांग्रेसले राज्यव्यवस्था समितिमा छलफलको क्रममा रहेको नागरिकता विधेयकमा अहिलेकै व्यवस्थाको पक्षमा उभिने जनाएको छ। यस विषयमा थप छलफलका लागि कांग्रेसले आइतबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठकसमेत बोलाएको कांग्रेस नेता दिलेन्द्र बडुले जानकारी दिए।

आजको छलफलमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, सांसद दिलेन्द्र बडु र डिला संग्रौला सहभागि थिए।

राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो दुई बजेका लागि तोकिएको छ। समितिले वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधान बहुमतले पारित गर्ने तयारी गरेको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिन सकिने निर्णय गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button