
अषाढ ९, २०७७
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा एसी मिलानले लेच्चेको घरेलु मैदानमा ४-१ को सानदार जित दर्ता गरेको छ।
खेलको २६ औं मिनेटमा सामु कास्टिलेजोको गोलमा मिलानले अग्रता लिएको थियो । उनले टर्कीका मिडफिल्डर हाकान चाल्हा नोग्लुको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १-० ले अगाडी रहेको मिलानले दोस्रो हाफमा पनि दबाब कायम राख्यो ।
घरेलु टोलीले ५४ औं मिनेटमा बराबरीमा गोल गरेपनि त्यसपछि सम्हालिन नसक्दा खेल गुमाएको थियो । ५४ औं मिनेटमा मारको मान्कोसुले पेनाल्टीमा गोल गर्दै खेल बराबर गरेका थिए । म्याटीए ग्याबियाले खौमा बाबाकारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
मिलानलाई अग्रता पुन: स्थापना एक मिनेट पनि लागेन । मिलानले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । चाल्हानोग्लुले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक ग्याब्रीएलले बचाउन नसक्दा त्यसबाट आएको रिबाउन्डमा जियाकोमो बोनाभेन्चुराले गोल गरेका थिए ।
५७ औं मिनेटमा आन्टे रेबिचले मिलानको अग्रता दोब्बर पारे । चाल्हानोग्लुको उत्कृष्ट थ्रु पासलाई रेबिचले तीव्र गतिमा भेट्दै गोलरक्षकसँग वन भर्सेस वनको स्थितिमा गोल गरेका थिए ।
खेलको ७२ औं मिनेटमा राफेल लिआओ गोल गर्दै फराकिलो जित सुनिश्चित गरे । उनले आन्द्रीए कोन्टिको पासलाई गोलमा परिणत गरेका थिए।
यस जितसँगै एसी मिलान अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । मिलानले २७ खेलमा ३९ अंक जोडेको छ । लेच्चे भने २७ खेलमा २५ अंकसहित १८ औं स्थानमा छ ।hamrokhelkud/from



