विचार

के, नागरिकता नाङ्लामा राखिदिनु पर्ने हो ?

जी एन शर्मा
कुरा सुन्दा लाग्छ नेपाली नागरिकता कुनै बिदेशबाट भित्रिदै गरेकी बुहारीलाई सीमा नाकामै दिनु पर्ने , उताबाट जन्ती आउँदै गर्छन् यता नाङ्लामा नागरिकता तयार पारेर उनको स्वागत गर्दा अझ राम्रो स्वागत हुने , लाग्छ नेपालको नागरिकता लाम्पाते सुर्ती पड्काउँदै गर्दा कसैले एक खिली पाउन सकिन्छ कि भन्ने ईसारामा हात बढाउँदा दिने परम्परा जस्तो । जब कुनै राष्ट्रको नागरिकताको महत्व र त्यससँग जोडिएको अन्तरसम्बन्धलाई छिपछिपे बुझाईमा बुझ्ने गरिन्छ त्यो भन्दा अर्को आत्मघाती अरु केही पनि हुदैन । अहिले नेपालमा यही नागरिकताको बहस चर्के जस्तो लाग्छ । चलेको प्रसङ्ग अनुसार बिदेशबाट बिबाह गरेर ल्याईने बुहारीलाई सात वर्षपछि नागरिकता दिने बहसको विषय ।
एक थरिको जिकीर छ सात वर्षपछि दिनु जायज छ अर्को पक्ष जिकीर गर्छ त्यसो गरे अन्याय हुन्छ । लाग्छ एकपक्ष दिने र अर्को पक्ष लिने हुन् यी बीचमा कुरा कतै बीचमा सहमति भए मिलाएर दिए हुन्छ ।
नागरिकता वा राष्ट्रिय परिचय पत्र भनौँ या कुनै पनि देशको नागरिकको निस्सा पत्रलाई यदि कसैले दिल्लगी ठान्छ भने त्यो भन्दा घोर राष्ट्रघात अरु के होला र ? नेपालको सन्दर्भमा नागरिकताको कुरा गर्दा सात वर्ष पनि कम भयो र अङ्गिकृत नागरिकता बिदेशी बुहारीलाई दिदा समेत केही सर्त राख्नु पर्छ । कसैलाई सहजै नागरिकता दिदा को खुशी हुन्छ या को दुखि बन्छ त्यो उनीहरुनै जानुन तर नागरिकता कानूनी पत्र वा निस्सा मात्र होइन त्यसको अन्तरसम्बन्ध भनेको माटोसँगको भावनासँग पनि अझ कसिलो बनेको हुन्छ भन्ने कटु सत्यलाई पनि नजरअन्दाज गरेर नागरिकता एउटा कानूनी प्रमाण हो भन्ने मात्र बुझिन्छ भने त्यो गलत हो ।
नेपाली नागरिकताको विषमानै भन्ने हो भने बिबाह गरेर बिदेशबाट आउने बुहारीलाई सात वर्षको समय अविधि पछि मात्र अङ्गिकृत नागरिकता दिईने छ भनेर मात्र हुदैन , यदि साच्चै यसलाई नेपाली राष्ट्रिय एकताको सुत्र र माटोसँगको अन्यान्योश्रित सम्बन्धसँग गास्न पनि खोजीएको हो भने धक नमानी अर्को बुँदा पनि थप्नु पर्छ कि सात वर्ष पछि अङ्गिकृत नागरिकता प्रदान गरिने छ तर यो नागरिकता बाहकले नेपालको संघीय संसद, राष्ट्रिय सभा, प्रदेश सभा, पालिका प्रमुखमा राजनीतिक वा अरु कुनै माध्यामद्धारा प्रतिनिधित्व गर्न पाउने छैन भने राष्ट्रसेवक कर्मचारीको रुपमा सुरक्षा निकायमा समेत प्रतिस्पर्धा गर्न सक्ने छैन भनेर किटेरै कानून बनाउन आबाश्यक छ । यदि सरकारले र सरकारमा रहेको पार्टीले ढिलो भए पनि अलिकति शुभकार्य गर्न खोजेको हो भने एक पटक नेपाली नागरिकताका विषयमा सुक्ष्म अप्रेसन गर्न आबाश्यक छ । सरकार ईमानका साथ नागरिकताप्रति संवेदनशिल बनेको हो भने मलाई त ब्यक्तिगत रुपमा लाग्छ २०६४ सालमा दलका प्र्रतिनिधीले हुन्छ भनेका भरमा सिफारिस गरिएका सबै नागरिकता उपर छानबिन गर्न सक्नु पर्छ ।
अहिले केही कोमल मन भएका महोदयहरु नागकिताका विषयमा बहस चलिरहेका बेला यो र त्यो रिसाउँछ भन्ने घातक चिन्तनबाट नेपाली नागरिकता र यसको प्राप्तीलाई जति हलुका र सरल बुझाईमा लिने गरेकाछन् भोलीका दिनमा यसले ल्याउने तुफानको वेगले आफुलाई कुन कुनामा हुत्याउँछ हेक्कानै नराखी बोले जस्तो लाग्छ । उनीहरुले त दिए भै गो नी पाराले नागरिकतालाई लिएकाछन् ।तर, नेपालका लागि मात्र होइन कुनैपनि देशका लागि त्यो देशको नागरिक परिचय पत्र मजाक होईन र हुनुपनि हुदैन । हाम्रै छिमेकी भारतमा हेरे पनि पुग्छ कि नेपालबाट बिवाह गरेर गएकी बुहारीले त्यहाँका नागरिकता पाउन कति प्रकृया पुरा गर्न पर्छ र कति समय लाग्छ तर केही मानिसहरु अहिले यहाँ नागरिकतालाई नाङ्ले पसलमा राखिएको कनकर्नो जस्तो ठानेकाछन् । यदि सरकार नेपाली नागरिकताको गरिमा र यसको महत्वलाई उचाईमा राख्न साँच्चैनै प्रतिबद्ध बनेको हो भने सबै भन्दा पहिला बर्खामा भेल आए जस्तो गरि २०६४ सालमा वितरण भएका सबै नागरिकता माथि रिठ्ठो नबिराइ छानिबिन गर्न तयार रहोस र आउने कानून यस्तो होस कि कुनैपनि नेपाली नागरिकता लिनबाट बञ्चित नबनुन् र उनीहरुका लागि सरल अनि सहज माध्यामको ब्यबस्था गरियोस तर कुनै पनि गैर नेपालीले युगौँ सम्म पनि नेपाली नागरिकता लिन्छु भन्ने कल्पना समेत गर्न नसक्ने कानून बनाउन सक्ने हिम्मत गरोस । नागरिकता नेपालीहरुको गौरव र शानको विषय बन्नु पर्छ नकि यो कसैलाई खुशी या कसैलाई दुखि बनाउने कुटिलता होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button