
अषाढ ११, २०७७
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित भएको छ । खेलको पहिलो हाफमा नै २-० को अग्रता लिएको लाजियोले दोस्रो हाफमा सम्हालिन नसक्दा हारको सामना गर्नुपर्यो ।
पाहुना टोली लाजियोले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । लाजियोका म्यानुएल लाजारीले क्रस गरेको बल एटलान्टाका मार्टिन डे रुनलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो । ११ औं मिनेटमा लाजियोले अग्रता दोब्बर पार्यो । लुइस अल्बर्टोको पासमा सर्गे मिलिन्कोभिच साभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको ३८ औं मिनेटमा एटलान्टाले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । हान्स हातेबोरको क्रसमा रोबिन गोसेन्सको हेडर गोलमा परिणत भएको थियो । खेलको अन्त्यतिर बलमा पकड बनाएको एटलान्टाले बराबरी गोलको प्रयास गरेपनि सफल हुन सकेन ।
दोस्रो हाफको ६६ औं मिनेटमा एटलान्टाले खेल बराबरीमा ल्यायो । डे रुनको पासमा रुस्लान मालिनोभ्स्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् । ८० औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । कप्तान आल्हान्द्रो गोमेजको पासमा जोसे लुइस पालोमिनोले गोल गर्दै लाजियोलाई दबाबमा राखेका थिए ।
यस हारसँगै लाजियोले शीर्षस्थानको युभेन्टससँग अन्तर घटाउने अवसर गुमाएको छ । लाजियोको २७ खेलमा ६२ अंक रहेको छ । समान खेलमा युभेन्टसले ६६ अंक जोडेको छ । एटलान्टा भने महत्त्वपूर्ण जितसँगै २७ खेलमा ५४ अंकसहित चौथो स्थानमा रहेको छ ।hamrokhelkud/from



