सृजनाको चौतारी

कोरोनाले के सिकाउँछ ?

– झपेन्द्रराज बैद्य

 

एउटी मन्दरा
बहुआयामिक यात्रा
अनेकअनेक जात्रा
लाखौँ–लाखौँ छन् मन्दरा ।
रित्तो पेट र भरी मन
आक्रोश र क्रन्दन
आक्रान्त छ जीवन
दमनमाथि दमन
तर छैन निहुरिएको शिर
हप्तौँ दिन भोकभोकै
कहीँ त छन् कबाफ
ठाँट, बाँट, रबाफ
कोटकन्दरामा बस्छन् मन्दरा
तर खेद छैन
छैन घरमा दाना मकै ।
कोरोनाको लकडाउन
काम छैन कहीँ–कतै
राहतमा पाँच किलो चामल
आहत छ कुहिएको तैपनि
दुई छोरा, तीन छोरी
छ छन त कुहिएको चामल
नब्बे दिनको लकडाउन
रैती जेसुकै गरून्
घरमा छैन अन्नको दाउन
जालीले छेकेको
तैपनि छर्लङ्गै देखेको
कोरोनाको छ १० अर्ब
तर छन् जनता बेखबर !
पीसीआर माग्दा
जनतालाई भाटा, पानीफोहोरा
अश्रुग्याँस तर छैन जनता
निरास, हतास
कोरोनाले धेरै कुरा सिकाउँछ
फासिवाद कस्तो छ सिकाउँछ ।
एमसीसीमा अल्पमत हुँदा
बैठक हराउँछ
‘एमसीसी झ्यालबाट होइन
ढोकाबाट आउँछ’
यही कुरा साम्राज्यवादले पढाउँछ ।
यता मन्दराहरू भोकै छन्
उता नयाँ राजाहरूको मस्ती !
गाउँघरमा सशस्त्रको गस्ती
भित्र अशान्त, बाहिर प्रशान्त
धन्य कोरोना !

मुर्मुरिएका छन् मन्दराहरू !
रोएका छन् पहाड र कन्दराहरू
न त श्रम न त व्यवसाय
कति भोकै मर्छन्
चौध सय आत्महत्या गर्छन् ।
कोही भोकै मर्छन् ।
सयौँको मृत्युपछि पीसीआर
निसास्एिको जीवन ।
लाखौँलाख बिदेसिएकाहरू
आउँदाआउँदै अलपत्र ।
क्वारेन्टाइन इपीसेन्टर बनेछ
न त आइसोलेसन, न त उपचार
अझ चल्छ कोरोनाको व्यापार ।
कोरोनाको कहर
तर नेपालीको जिन अद्भुत छ ।
सोत्तर त भएका छैनन् ।
आमाको आँसुले घैला भरे पनि
श्रीमतीहरूको आर्तनाद भए पनि ।
बाबाहरू कोरनामा हराए पनि ।
जीवनले जिउन सिकाउँछ ।
धर्तीले सहनशीलता
प्रकृति बन्छ पाठशाला
जीवन त गति हो
जाग–जाग भन्छ
बन्दैन मुलुक
दुईचारजना सहिद न भए ।
अब त अति भो ।
चाहिँदैन फासिवाद
यता कोरोनाको कहर
उता एमसीसीको चलखेल
मधेसमा बाढीको भेल
जति खाए पनि, जति भए पनि
‘हिसाब माग्ने बेला होइन यो ।’
ज्ति पनि प्रश्नको प्रतिप्रश्न ?
यसैले त भ्रष्टाचारी मोटाइरहन्छन् ।
अभिभावक पनि यस्तो हुन्छ ?
आफ्नालाई छेक्ने, अरूलाई जोत्ने ।
वाइडबडी होस् त एनसेल
प्रिन्टिङ प्रेस होस् व पीआरसी
हजारौँ प्रश्नहरू अनुत्तरित
दर्जनौँ घटनाहरूको रहस्य
बलात्कार, जघन्य हत्या
हजारौँ पूर्वाग्रहको जेल र नेल
यसैलाई भनिन्छ लोकतन्त्र ?
मन्दराका नाराहरू छन्
सबैका लागि स्वास्थ्य
राज्यको दायित्वमा स्वास्थ्य
सुरक्षाको सुनिश्चितता
चाहिँदैन बजार नियन्त्रित शिक्षा
देऊ गुणस्तरीय शिक्षा
मन्दराहरूको आवाज लोकतन्त्रले सुनोस्
अनि सम्बोधन गरोस् मन्दराहरू
नबोल्नेका स्वरहरू सुन
स्वतन्त्र न्याय र स्वायत्त सञ्चार
यही हो लोकतन्त्रको उपहार
यसैमा हुन्छ आर्थिक सुधार
तब खुल्छ राजनीतिको मुहार ।
यहाँ त राजनीतिको फोहोर बग्छ ।
कुखुरा खाने छट्टु स्याल
बोल्छ एउटा, गर्छ बेहाल
बोल्नेलाई थुन्छ
अनि गर्छ राज ।
हो लोकतन्त्रको परिभाषा बदलिएको छ ।
जनताको स्थानमा उच्चवर्गीय
टाठाबाठाको हालीमुहाली
अब्राहम लिङ्कनको परिभाषा फेरिएको छ ।
कुनै पनि वस्तु र सेवामा
असुलिन्छ उच्च मूल्य
अनि लादिन्छ एकाधिकार
भ्रष्टाचारी बन्छ नवधनाढ्य
अनि पैसामा बन्छ लोकतन्त्र
कुरूप राजनीतिक प्रणालीको उपहार
लुट्नेलाई लोकतन्त्र
पैसामा लोकतन्त्र
खुला बजारलाई पुँजीवाद
र, पैसाको बलमा राजनीतिक शक्ति
यही हो लोकतन्त्र ?
आर्थिक असामनतामा राजनीतिक असमानता
यही हो तिम्रो लोकतन्त्र ?
अमेरिकामा जेफ बेनोज होस्
बिल गेट्स होस्, वा वारेन बफेट
उनीहरूकै पल्ला भारी छ
अनि कसरी हुन्छ लोकतन्त्र ?
उनीहरूको चाहनामा फल्छ लोकतन्त्र ।
यही हो लोकतन्त्रमा चुनौतीको पहाड
खतराको डिलमा छ
नाम मात्रको लोकतन्त्र ।
तर छाडातन्त्र होइन लोकतन्त्र
जीवनको पर्याय बन्नुपर्छ लोकतन्त्र ।
बाँकी सबै मूर्ख, म मात्र सद्दे
हुँदैन, हुँदैन लोकतन्त्र ।
आलोचकलाई थुनेर राज गर्ने
कहाँ हुन्छ लोकतन्त्र ?
जसको शक्ति उसको भक्ति
यो त फासिवाद हुन्छ ।
फासिवादमा राष्ट्रघात हुन्छ
राष्ट्रियतामा खेलबाड
निर्लज्ज भ्रष्टाचार
शासन हुकुमी हुन्छ ।
जनतामा सास थुनियो भने
अप्रिय विस्फोट हुन्छ ।
कन्दरा टहराका मन्दराहरू
कहराइरहेछन् अभावमा
कोरोनाको बन्दाबन्दीमा
उच्च वर्ग आराम गरिरहेछन्
सयल गरिरहन्छन् कारमा
तर मन्दराहरू बिनाकाम
बिनामाम थुनिएका छन् ।

२०७७, ११ असार बिहीबार ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button