विचार

किन रोकियो नगरसभा ? उत्तर सजिलो छ , स्वार्थको डम्फुले

जी एन शर्मा

झापाको मेचीनगर नगरपालिकाको छैठौ नगरसभा रोकिन पुगेको छ । नगरकै जनप्रतिनिधीहरुको कारणले नगरसभा रोकिन पुगेको कुरो प्रष्ट छ । नगरसभा भनेको नगरपालिकामा जनताले चुनेर पठाएका प्रतिनिधीले गर्ने हो । उनीहरुले नगरेपछि नगरसभा हुने कुरो भएन । नेपालको संबैधानिक कानूनलाई हेर्ने हो भने गाउँपािलका र नगरपालिकाले असार १० गते भित्र गाउँ वा नगरको नीति कार्यक्रम तयार गरिसक्नु पर्छ । मलाई उती साह्रो कानून त आउँदैन तर थाहा भए अनुसार कुनै पनि कारणले असारको ११ गते पु¥याउन मिल्दैन यो त भयो कानून अनुसार नगरसभा गर्ने कुरा तर जनप्रतिनिधीलेनै अटेर गरेपछि कानून आफै हतार गरेर आएर आफैले नगरसभा गर्ने कुरो आउँदैन पनि होला । नगरसभा गर्ने भनेको त फेरि पनि उनै जनप्रतिनिधीहरुलेनै हो जब उनीहरुलेनै संबैधानिक प्रावधानलाई मान्दैनन् भने गर्नु पो के छ र , रमिता हेर्न बाहेक हामी जस्ता तलका निर्धा मान्छेहरुले ।
मेचीनगरको नगर सभा असारको १० गते सम्ममा भएन , नगरले आफ्नो भावी कार्यक्रम भनौँ या नीति कार्यक्रम नगरसभा मार्फत त्यसलाई विधिवत रुप दिनु पर्ने हो तर मेचीनगरमा त्यो हुन सकेन किनभने जनप्रतिनिधीहरुलाई आ आफ्ना डम्फु बजाउनमै फुर्सद भएन । नगरमा प्रतिनिधी गर्ने नेपाली काँग्रेसका प्रतिनिधीहरुको काँग्रेसी डम्फु र नेकपाका जनप्रतिनिधीहरुको कम्युनिष्टको डम्फुको तालमा फन्को मार्दामार्दै नगरसभाको मिति भुलेका हुन् या डम्फुको ताल छाडेर नगरसभा नगर्ने विचारमा पुगेका हुन् त्यो उनीहरुले जानुन् । अहिले जब नगरसभाको अन्तिम मिति फुस्कियो एकले अर्कालाई फलानाले गर्दा भनेर आरोप लगाईरहेकाछन् । मानौँ उनीहरुले एकले अर्कालाई जे जे आरोप लगाईरहेकाछन् त्यो सब जनताले हुबहु पत्याएकाछन् ।तर, एक्काईशौँ शदिका नेपाली जनतालाई यदि कसैले सितिमिती पाराले फुस्ल्याउँछु भनेर नसोचे पनि हुन्छ । कसले, किन र केका लागि के भन्दैछ भनेर राम्रो सँग ठम्याउने जनता भईसकेकाछन् । मेचीनगरको नगरसभा रोकिनुको कारण जसले जे भने पनि यो दलीय र ब्यक्तिगत कारण बाहेक अरु केही पनि होइन भनेर ठोकुवा गर्न सकिन्छ । आ आफ्ना डम्फु बोकेर नीति कार्यक्रमको प्रहसनमा जुटेका हाम्रा जनप्रतिनिधीले एउटाले अर्कालाई जतिसुकै सत्तोसराप गरेको नौट्ङ्की गरेपनि नगरसभा रोकिनुको मूल कारण भनेकै आ आफ्ना स्वार्थको ताल हो भन्ने कुरा कसैबाट अब छिपेको छैन र यति कुरा मेचीनगरवासीले बुझ्न कुनै आईतवार पर्खनु पनि पर्दैन । तर, उदेकको विषय त यो छ कि आफ्ना स्वार्थ पुरा गर्ने र गराउने दाउमा नगरसभानै रोकिनु कति जायज विषय हो ? कसैको कुनै स्वार्थका कारण संविधानलेनै मापन गरेको समय सीमालाई अटेर गर्नु कति कानून संगत छ ?असार १० गते भित्र नगरको भावी मुहार बदल्नका लागि ल्याउने नीति कार्यक्रम आफ्ना निहित स्वार्थको घेरा बन्दी बनाएर नगरसभालाई अन्यौलको विषय बनाउने अधिकार जनप्रतिनिधीहरुलाई कसले दियो, यो संविधानले या आफ्नो खुशीले ?
मैले सुने अनुसार नियमानुसार असार १० गते भित्र कुनैपनि पालिकाले आफ्नो आगमी नीति कार्यक्रम प्रस्तुत गरेन भने उसलाई नैतिक जिम्मेवारीको प्रश्न उठ्न पुग्छ र स्वभावैले त्यो कालो सूचिमा दर्ज हुन पुग्छ । मेचीनगरको नगरसभा असार १० गते भित्र गर्न नसकिने कुनै कानूनी अड्चन थियो ? कुनै त्यस्तो प्राकृतिक विपत्तिको अवस्था थियो या दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुको निहित स्वार्थको दन्तबझानका कारण रोकिन पुग्यो ? हामी सामान्य नागरिकले पनि सजिलै भनिदिन्छौ कि , केही पनि होइन कारण एउटै थियो स्वार्थको मिलान हुन सकेन ,किनकी त्यहाँ नागरिकको पक्षमा र समग्र मेचीनगरको उज्जवल भविष्य र प्रगतिमा भन्दा दलका डम्फु बजाएर ब्यक्ति केन्द्रीत स्वार्थको तालमा नाच्ने हुँदा नगर सभा हुन सकेन ।
मेचीनगरपालिकाको छैठौ नगर सभाको स्थगनले हाम्रा जनप्रतिनिधी नागरिकप्रति कति जवाफदेही र जिम्मेवार रहेछन् भनेर पनि आम नागरिकले बुझ्ने अवसर पाएकाछन् ।भनाई र गराईमा हिजोकै मिति देखि फरक देखिदै आएका उनीहरुको जिम्मेवारीपन कति परिपक्व र नागरिकप्रति पक्को रहेछ भन्ने कुरो पनि छर्लङ्ग भएको छ । तर, महत्वको पक्ष त यो हो कि , असार १० गते भित्र नगरसभा मार्फत नगरको भावी कार्ययोजना नीति कार्यक्रम मार्फत सार्वजनिक गर्नु पर्ने समयमा पनि नगरेर एकले अर्कालाई आरोप लगाएर आफु चोखिने दोस्रो नाटक मञ्चन पनि अब नगरे हुन्छ किनभने यो पनि नागरिकले बुझेका छन् कि , किन रोकियो होला नगरसभा भनेर नागरिकलाई सोधे हुन्छ । नागरिकले सजिलै भनिदिनेछन्, स्वार्थको डम्फुतालमा नाचेर , अरु किन , के का लागि रोकिनु पर्ने कारण छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button