विचार

फेरि मट्याङग्राको नाश जस्तो नहोस, प्रेस क्लब मेचीनगर !

झापाको मेचीनगर त्यसमा पनि काँकरभिट्टालाई केन्द्र जस्तो मानेर पहिला कहिले हो , गठन भएका दुईओटा पत्रकार सम्बद्ध संस्थाहरुबीच आज एकिकरण भएको छ । पत्रकारहरुको हक,हित र अधिकारका लागि भनेरै होला गठन भएका यी दुई सस्थाले पत्रकार, समाज र सञ्चारका क्षेत्रमा के के गरे त्यो गर्ने र थाहा पाउनेलाईनै थाहा होला ।
मुक्ति भाई र प्रकाश भाईले खबर गरे अनुसार सोधीखोजी गर्दै जाँदा पत्तो लाग्यो मेची बोर्डर जर्नालिष्ट एसोसिएसन र प्रेस क्लब मेचीनगरका बीच एकता गर्ने कुरो रहेछ । एकता मात्र होइन घोषणा गर्ने समेत कार्यक्रम रहेछ । कार्यक्रम स्थलमा पुग्दा भित्तामा जानकारीका लागि टाँगीएको ब्यानरले भन्दै थियो , आज देखि हामी दुई एक बन्दै छौँ है भनेर । दुई पत्रकारसम्बद्ध संस्थाको एकिकरण भएको घोषणा गरे एक नम्बर प्रदेशका प्रदेश सभाका सदस्य श्रीप्रसाद मैनालीले । एकता भएको घोषणा पछि सबैलाई मज्जाले ताली पिट्न लगाए पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले तल बसेका पत्रकारहरुले भाका मिलाई मिलाई ताली ठोके ।
एकिकरणका लागि शुभकामना दिनेले दिए, लिनेले लिए, मलाई पनि खशुी लाग्यो मेचीनगरमा पत्रकारहरुका पनि दुई संस्था रहेछन् भनेर काम गरे पनि नगरेपनि संस्थाको जन्म त भएको रहेछ नि त यो पनि खुशीकै कुरा हो ।
मनमा कुरा खेल्यो , यी दुईको एकिकरणले अब मेचीनगर र मेचीनगरका पत्रकारलाई दिन्छ चै के ? पहिला गठन भएका दुईटाले के के दिए र के के गरे त्यो भनिएन , भन्ने समय नभएर हो या भन्ने केही थिएन र भनिएन । सञ्चारसँग सरोकार राख्ने भनेरनै यी संस्थाको गठन भएको होला भन्नु पर्छ तर दुईटा मध्ये एक सम्म चलायमान थियो भने यो एकिकरणको आबाश्यकतै किन थियो , होइन दुईटै गठन भए अलिक दिन ताउरमाउर गरे जस्तो गरे अनि चुपचाप बसेका हुन् भने यी दुईको एकताले आउने दिनमा के दिन्छ भन्ने आशा राख्नु ?नेपालीमा एउटा उखान चल्तिमा छ ‘ केटाकेटी आए गुलेली खेलाए मट्याङग्राको नाश’ जस्तो मात्रै हो भने यो एकिकरण फुर्सदका बेलामा दिन गाल्ने े उपयुक्त जम्काभेट बाहेक अरु केही पनि हो जस्तो लाग्दैन ।


कसैलाई कतै टेक्ने समाउने ठाउँको अभाव खड्किएर मन बुझाउनै मात्रै यस्ता संस्थाको जन्म गराउने हो भने त्यसमा भन्नु केही छैन । होइन भने पत्रकारहरुले गठन गरेका दुईदुई ओटा संस्थाले आजका मिति सम्म माखो केही नमार्नु भनेको यी दुबै जस्ता फेल भएका भन्न सकिन्छ । कोनी कस्का रिसले कसको काख चिस्याउनु भने जस्तो गर्न मात्र कुनै पनि संंघ संस्था जन्माउनुको तुक हुदैन । जे होस हिजोका दिन संस्था मात्रै जन्माएर अहिले सम्म जोगाई राख्ने संस्थाका संस्थापकहरुलाई धन्यबाद दिने पर्छ , जे भएनी यो बेला एकिकरण गर्न काम लाग्यो । एकिकरण भेलामा घोषण भए अनुसार अब बोर्डर जर्नालिष्ट एसोसिएसनको नाम पुछेर त्यो साईन बोर्डमा प्रेस क्लब मेचीनगरको लेख्ने लिखित र मौखिक कबुल गरिएको छ ।
मेचीनगरमा यहाँ कार्यरत पत्रकारहरुका लागि एउटा संगठित साझा संस्थाको अपरिहार्य आबाश्यकता हो , मेचीनगरमा रहेका नयाँ पत्रकारहरुलाई यस्ता संस्थाले हौसला र उनीहरुको शिप र दक्षताका लागि पहल गर्ने एउटा भरपर्दो माध्यामको आबाश्यकता छ । तर, अब जिवित बनाईएको प्रेस क्लब मेचीनगरको बानी र ब्यहोरा पनि उही पुरानो पोखरी जस्तो जम्ने जस्तो मात्र भयो भने यो पनि उही केटाकेटी आए गुलेली खेलाए उखानको बाटोमा हुन्छ । हिजो संस्था दर्ता गरेर मौननै बसिए छ अब केही गर्नु पर्छ अर्थात पोखरी जस्तो जमेर होइन बग्ने खोलो जस्तो सुसाएरै बहनु पर्छ भनेर एकिकरण भएको हो भने हिजो फेल भएर के भो त अब राम्रो मिहेनत गरेर फस्ट पनि त होला नि भन्ने संभावनालाई खुल्ला राखेर शुभकामना दिनै पर्छ । तर ,अब प्रेस क्लब मेचीनगरको नयाँ अधिबेशन समितिको चाल कस्तो हुने हो त्यो हेर्न बाँकी छ । अहिलेलाई पोखरी होइन तमोर बन्न अनुरोध सहित शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button