
अषाढ १४, २०७७
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार रातीको खेलमा उपाधि होडमा रहेको लाजियोले फियोरेन्टिनालाई २-१ ले पराजित गरेको छ ।
लाजियोको घरेलु मैदानमा फियोरेन्टिनाले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हारको सामना गर्नुपर्यो । खेलको २५ अौं मिनेटमा फ्रान्क रिबेरीले टोलीलाई अग्रता दिलाएका थिए । उनले डालबर्टको पासको सदुपयोग गर्दै पाहुना टोलीका लागि पहिलो गोल गरे ।
तर दोस्रो हाफमा लाजियोले दुई गोल गर्दै युभेन्टस लाई पछ्याउने क्रम जारी राख्यो । ६७ अौं मिनेटमा चिरो इम्मोबिलेले गोेल गर्दै खेल बराबरीमा ल्याए । लिगका सर्वाधिक गोलकर्ता समेत रहेका उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
निर्धारित समयको ७ मिनेट बाँकी रहँदा लाजियोले अग्रता लियो । निकै लयमा रहेका मिडफिल्डर लुइस अल्बर्टोले गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो । उक्त गोल नै जितका लागि पर्याप्त रह्यो ।
अघिल्लो खेलमा २-० को अग्रता लिनका बाबजुद ३-२ को हार बेहोरेको लाजियो यस जितसँगै उपाधि होडमा फर्किएको छ । शीर्षस्थानको युभेन्टसभन्दा लाजियो ४ अंकले पछाडि छ । युभेन्टसको २८ खेलमा ६९ अंक छ भने लाजियो समान खेलमा ६५ अंकसाथ दोस्रो स्थानमा छ ।
लिग अन्तर्गत मंगलबार लाजियोले टोरिनोसँग खेल्नेछ । उक्त खेलपछि युभेन्टसले जेनोआको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।hamrokhelkud/from



