अषाढ २१, २०७७
एजेन्सी – कोरोना महामारीपछि पहिलो खेल खेलेका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले उच्च प्रदर्शन गरेपछि उपाधि दावेदारको रुपमा अघि बढेको लाजियो घरेलु मैदानमा एसी मिलानसँग स्तब्ध बनेको छ । लाजियो एसी मिलानसँग ३–० ले स्तब्ध बनेको हो ।
एसी मिलानसँगको हारसँगै लाजियोको उपाधि जित्ने सम्भावना न्युन बनेको छ । शनिबार राति नै शीर्षस्थानमा रहेको युभेन्टसले टोरिनोमाथि ४–१ को जित निकाल्दै शीर्षस्थानमा ७ अंकको फराकिलो अग्रता बनाएको छ ।

मिलानमाथि जित निकाल्न सकेको भए लाजियो युभेन्टससँग ४ अंकले मात्रै पछि पर्ने थियो । तर, नतिजा आफ्नो अनुकुल निकाल्न सकेन ।
रोमामा शनिबार राति भएको खेलमा मिलानको जितमा हकान चाल्हानोग्लु, ज्लाटन इभ्राहिमोभिच र एन्टी रेविचले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।
खेलको २३औं मिनेटमा नै हकानको गोलबाट मिलान खेलमा अघि बढेको थियो । उनले ज्लाटनको पासमा गोल गरेका थिए । ३४औं मिनेटमा ज्लाटनले पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई २–० ले अघि बढाए ।
एलेक्सिसले क्रस गरेको बललाई लाजियोका रक्षक स्टेफन ड्यानियल राडुले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टीको अवसर प्रदान गरेको थियो । जसमा इभ्राहिमोभिच चुकेनन् ।
त्यसअघि ३१औं मिनेटमा ज्लाटनले गोल गरेपनि उनी अफसाइड ठहरिएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा जोआक्विन कोरेरा गोल नजिकै पुगेपनि मिलानका डिफेन्डर थियो हर्नान्डेजले उत्कृष्ट डिफेन्डिङको नमुना पेश गर्दै लाजियोलाई निराश पारे ।
५३औं मिनेटमा लुइस अल्ब्रेटोको फ्रिकिकमा म्यानुएल लाजरीले गोल गरेपनि अफसाइड ठहरिए । ५९औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानको ३–० को जित पक्का गरे ।
६८औं मिनेटमा हर्नान्डेजको प्रहारलाई लाजियोका गोलरक्षक थोमसले उत्कृष्ट बचाउ गरे । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान ३–० ले विजयी हुन सफल भयो ।
जितसँगै मिलान ३० खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लन सफल हुदा लाजियो ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको युभेन्टसको ७५ अंक पुगेको छ । यस्तै अर्काे खेलमा सासुअलोले लेच्चेमाथि ४–२ को जित निकालेको छ ।hamrokhelkud/from



