खेलकुद

आत्मघाती गोलले टोटेनहम विजयी

अषाढ २३, २०७७
एजेन्सी – आत्मघाती गोल सहयोगमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा महत्वपुर्ण जित निकालेको छ । टोटेनहमले एभर्टनमाथि १–० को झिनो जित निकालेको हो ।

टोटेनहम हस्टपर मैदानमा सोमबार राति भएको खेलमा पहिलो हाफमा माइकल किन गरेको आत्मघाती गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो । उनले खेलको २४औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा ह्यारी केनको प्रहारलाई क्लोज रेन्जबाट मासन होल्गेटले बचाएपनि जियोभानी लो सेल्सोको प्रहार माइकल किनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।

त्यसअघि २२औं मिनेटमा लुकास मोउराको पासमा ह्यारी विङ्सको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । २९औं मिनेटमा इरिक डिएरको प्रहार एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले सहजै नियन्त्रणमा लिए । ४०औं मिनेटमा एभर्टनले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । गिल्फी सिगुडसनको कर्नरमा कल्भर्ट लेविनको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाउदै सम्भावित बराबरी टारे । पहिलो हाफमा इन्ज्युरी समयमा रिचार्लीसन चुक्दा एभर्टन बराबरीबाट चुक्यो ।

५३औं मिनेटमा ह्युङ मिन सनले पेनाल्टी एरियामा अवसर पाएपनि गोल गर्न नसक्दा टोटेनहम अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा लुकास मोउराको पासमा सनको अर्काे प्रहारलाई गोलरक्षक पिकफोर्डले सहजै बचाए । ८१औं मिनेटमा एन्थोनी गोर्डनको फ्रिकिकलाई कल्भर्ट लेविनले फ्लिक प्रयास गरेपनि तैनाथ रहेका लोरिसले बचाए ।

८९औं मिनेटमा लुकास डिग्नेको कर्नरमा इरिक लमेलालाई बिट गर्दै गरेको हाफ भली प्रहार पोस्टबाट थोरै बाहिरिदा एभर्टनले खेललाई बराबरी गर्ने अर्काे अवसर खेर फाल्यो । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा टोटेनहम १–० ले विजयी हुन सफल भयो ।

जितसँगै टोटेनहम ३३ खेलबाट ४८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन ४४ अंक जोडेर ११औं स्थानमा यथावत छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button