
श्रावण २, २०७७
एजेन्सी– ओपनर डोम सिब्ले र अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकीय साझेदारीमा वेस्ट इन्डिजसँगको दोस्रो टेष्टको पहिलो दिन इंग्ल्यान्ड सम्हालिएको छ ।
ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८२ ओभरमा २ सय ७ रन जोड्न ३ विकेट गुमाएको छ । ८१–३ को अवस्थाबाट स्टोक्स र सिब्लेले चौथो विकेटको लागि ३ सय ४ बलमा १ सय २६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो योगफलको बाटो देखाएका छन् ।
सिब्ले २ सय ५३ बलमा ४ चौका सहित ८६ रनमा अविजित छन् । सिब्लेले थप १४ रन बनाए आफ्नो टेष्ट करिअरको दोस्रो शतक प्रहार गर्ने छन्। स्टोक्स १ सय ५९ बलमा ४ चौका र १ छक्का सहित ५९ रनमा अविजित छन् ।
घरेलु टोली इंग्ल्यान्डको सुरुवात भने राम्रो हुन सकेन । स्पिनर रोस्टन चेशले ओपनर रोरी बन्र्सलाई १४ औं ओभरको दोस्रो बलमा १५ रनमा एलबिडब्लू आउट गरे । रोरीले ३५ बलमा १ चौका प्रहार गरे । लगत्तै अर्को बलमा युवा ब्याट्सम्यान ज्याक क्रलीलाई कप्तान जेसन होल्डरबाट क्याच गराउँदै गोल्डेन डग आउट पेभिलिएन फर्काए ।
कप्तान रुटले ह्याट्रिक बलको सामना गरेका थिए । तर रुट पनि क्रिजमा धेरै समय टिकेनन् । अल्जारी जोसेफले दोस्रो स्लिपमा होल्डरबाट २३ रनमा क्याच आउट गराउँदै दबाब बढाएका थिए । रुटले ४९ बलमा २ चौका प्रहार गरे । जोसेफले पछिल्ला पाँच टेष्ट इनिङ मध्य रुटलाई चार पटक आउट गरेका हुन् ।
तीन टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्ट ४ विकेटले गुमाएको इंग्ल्यान्डलाई दोस्रो खेल जित्नै पर्ने दबाब छ । वेस्ट इन्डिज एक खेल अगावै सिरिज जित्न चाहाँन्छ ।hamrokhelkud/from



