
श्रावण ११, २०७७
एजेन्सी – फरवार्डद्धय रोमेलु लुकाकु र एलेक्सिस सान्चेजले गोल गरेपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा जिनोआमाथि सानदार जित निकालेको छ ।
इन्टरले घरेलु टोली जिनोआमाथि ३–० को सानदार जित हात पारेको हो । इन्टरको जितमा रोमेलु लुकाकुले दुई तथा एलेक्सिस सान्चेजले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
खेलको शुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको इन्टरले ३४औं मिनेटमा लुकाकुको गोलबाट अग्रता बनाएको थियो । लुकाकुले क्रिस्टियानो बिराघीको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि २२औं मिनेटमा लुकाकुले नै गोल गर्ने सुवर्ण अवसर खेर फालेका थिए ।
८२औं मिनेटमा सब्सिच्युट एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । भिक्टर मोसेसको पासमा गोल गरेका सान्चेज ६४औं मिनेटमा लोउटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै इन्टर मिलानलाई ३–० को सानदार जित दिलाए ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको इन्टरले शीर्षस्थानको युभेन्टससँगको अंक दुरी ४ मा छोट्याउदै उपाधि जित्ने गणितीय सम्भावनालाई जीवितै राखेको छ । इन्टरको ३६ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको युभेन्टसको ८० अंक छ । तेस्रो स्थानको एटलान्टाको ७५ अंक छ । पराजित जिनोआ ३६ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।hamrokhelkud/from



