स्वास्थ्य

कहाँ हरायो पुरानो खाजा पुवा? यस्तो छ, पुवामा लुकेको वैज्ञानिकता

२०७७ श्रावण २५ आइतबार

सानो छँदा हजुर-आमा तथा आमाले पकाउने एउटा मिठो खाजा थियो पुवा¸ जुन कहिलेकाहीँ मात्रै बन्थ्यो। पुवा बनेको दिन घर नै बसाउँथ्यो। सुत्केरीका लागि त अझ विशेष खालको पुवा बन्थ्यो। विशेष यस अर्थमा कि, सामान्य खाजाका रुपमा बन्ने पुवामा सुप र घ्यु मुख्य हुन्थ्यो भने सुत्केरीले खाने पुवामा थप धेरै जडिबुटीजन्य मसला राखिएको हुन्थ्यो।

सुपलाई संस्कृतमा शतपुष्पा र नेपालीमा सुप¸ सम्फो आदि नामले पनि चिनिन्छ।

अहिले सम्झँदा पुवा खाजा नयाँ पुस्ताले कति जान्लान्, कति नजान्लान्। विदेश पलायन भएका धेरै परिवारले यसको महत्व बुझेर नयाँ पुस्तालाई यसको ज्ञान दिन जरुरी छ/छैन¸ यो पनि प्रश्न उठ्छ।

पुवा चामलबाट बन्छ। हाम्रो आफ्नो भूमिमा चामल मुख्य अन्न भएकाले पुवा बनाउन गह्रो छैन। उत्तर भारतमा यस्तै किसिमका परिकार गहुँको पिठोले बनेको पाइन्छ। आयुर्वेदले भनेको पनि छ¸ “यस्य देशस्य यो जन्तुस्तज्ज तस्सयोषध हितम्” अर्थात् जो व्यक्ति जहाँ जन्मन्छ त्यो व्यक्तिका लागि त्यसै देशको माटोमा हुने अन्न र औषध हितकारी हुन्छ।

पुवामा राखिने एक नित्यपयोगी मसला हो सुप। हरियो सागका रुपमा पनि सुपको सागको तरकारी बनाएर खाने परम्परा हाम्रो भान्सामा छ। यो हरियो सागमा अनगिन्ती यस्ता रसायन र खनिज द्रव्य छन् जसलाई महत्वपूर्ण जडिबुटीको रुपमा लिइन्छ। मुख्य रुपमा हरियो हुँदा साग र पछि बिज बढी प्रयोग हुन्छ। सुपको हरियो सागमा अल्फा फेलान्ड्रिन¸ लाइमोनिन¸ दिल इथर¸ माइरिसटिसिन लगायतका एक्टिभ कम्पाउण्ड हुन्छन्।

यसको पात र बिजबाट निकालिएको एसेन्सियल आयलमा कार्वोन¸ लाइमोनिन¸ डिहाइड्रोकार्वोन¸ कारवाक्रोल¸ अल्फा-फेलान्ड्रिन नामक कम्पाउण्ड हुन्छन्। यी तत्वहरुले यसलाई एण्टिबायोटिक¸ एण्टिफंगल एण्टी अक्सिडेण्ट गुणयुक्त बनाउँछन्। यो कम्पाउण्डको महत्व खाद्यान्न उद्योग¸ साबुन¸ प्रर्फुम आदि बनाउन पनि प्रयोग हुन्छन्।

यसको बिजको महत्व झनै बढी छ। आयुर्वेद अनुसार यसलाई पाचनशक्ति सृदृढ गर्न¸ पेटको दुखाइमा¸ रसायन¸ मेद्य¸ जोर्नीहरुको सुजनमा¸ पाठेघरको दुखाइ आदिमा प्रयोग गर्न सकिन्छ। यसको रस कटु-तिक्त (पिरो र तितो) साथै शरीरलाई गरम राख्ने प्रकृतिको हुन्छ। आयुर्वेद अनुसार वात र कफज रोगहरुमा यसको प्रयोग हुन्छ। यो बिज बच्चाहरुमा प्रयोगमा आउने (ग्राइप वाटर) नामक औषधिमा प्रमुख घटकको रुपमा रहन्छ।

यो बिजको रसायनिक संगठन हेर्दा प्रोटिन १५.६८ प्रतिशत, कार्वोहाइड्रेट ३६ प्ररतिशत¸ फेट्टी ओयल¸ फाइवर आदि तत्वहरु हुन्छन्।

खनिज तत्वमा क्याल्सियम¸ पोटासियम¸ मेग्नेसियम¸ फोस्फरस¸ सोडियम¸ भिटामिन ए¸ नाइसिन र प्रशस्त एसेन्सथिल ओयल हुन्छ। यसको बिज प्राकृतिक श्रोतबाटै पाइने अनेकौ औषधीय गुणले भरिपूर्ण छ। यो बिज व्याक्टेरिया (कीटाणु) नाशक गुणयुक्त छ। विशेषगरी स्टयाफाइलो कोकस¸ स्ट्रेप्टोकोकस¸ इ.कोली र शिउडोमोनास लगायतका व्याक्टेरिया विरोधी गुण यसमा पाइन्छ।

यसमा भएका एक्टिभ कम्पाउण्ड (शरीरका कोषमा गएर काम गर्ने रसायन) मध्ये सबैभन्दा धेरै लाइमोनेन ३३ प्रतिशत हुन्छ। यो परफ्युम¸ लामखुट्टे¸ साङ्ला विरुद्धका स्प्रेहरु¸ साबुन¸ स्याम्पु¸ अन्य खाद्यान्नमा प्रयोग हुन्छ। अर्को कम्पाउण्ड अल्फा फेलान्ड्रिन हो जुन २०.६१ प्रतिशत हुन्छ। यसले किटाणु प्रतिरोधी क्षमता वृद्धि गर्छ। मास्ट कोषाणुलाई कम गराउने गुणले यसलाई एलर्जीका समस्या पनि प्रयोग गर्न सकिन्छ। यसमा प्राकृतिक रुपमा स्टेरोइड¸ टेनिन्स र फ्लाविनोइड्स हुन्छ जसले एण्टी-अक्सिडेन्टको भूमिका खेल्छ।

पेष्टिसाइड र किटाणुनाशक स्प्रे या औषधिमा यसको प्रयोग हुन्छ। अन्य रसायनसँग यो बिजमा पाइने एक्टिभ कम्पाउण्ड लाइमोनिन मिलाउँदा सो औषधिको गुण वृद्धि हुने अध्ययनहरुले जनाएका छन्। लामखुट्टेको अण्डालाई नष्ट गर्न पनि यसको विशेष मह्त्व छ। धनियाँ र सुपको साग बारीमा एकै ठाँउमा लगाउँदा बारी वरपर आउन सक्ने किटाणुको आक्रमण न्यून हुने अध्ययनले जनाएको छ। यो बिजको एसेन्सियल ओयल सुगन्धयुक्त¸ पेटको ढुस्सापन हटाउने¸ सुत्केरी महिलामा दूधको मात्रा बढाउने¸ भोक बढाउने आदि गुणले युक्त हुन्छ।

यो प्राकृतिक रुपमा एण्टिवायोटिक¸ एण्टी-इन्फ्लामेटोरी¸ एनल्जेसिक¸ आमाशयको भित्री भित्तालाई सुरक्षित राख्ने¸ भित्री मांसपेशी (स्मुथ मशल) को संकोच कम गर्ने जस्तै: (आन्द्रा¸ पाठेघर¸ पेट) रगतमा भएको बोसोलाई कम गर्ने¸ एण्टी अल्सर गुणयुक्त हुन्छ । यसमा प्रचुर मात्रामा पाइने एण्टिअक्सिडेण्टले मुटु सम्बन्धी रोग¸ क्यान्सर¸ इन्फ्लामेटरी अवस्थाहरु लगायतका धेरै रोग साथै डिजेनेरेटिभ/क्षयजन्य रोगहरुको जोखिमलाई कम गर्छ।

हजुर-आमा¸ आमाहरुले बनाउने गरेको पुवाको एउटा सानो मसला या भनौं एकल जडिबुटी यति बहु-उपयोगी छ भने थप सुत्केरी आमाहरुमा प्रयोग हुने सुत्केरी मसालामा पर्ने ३२ थरीका जडिबुटीको उपयोग कति होला, आफैं अनुमान लगाउन सकिन्छ।

आमाहरुले बनाउने गरेको पुवा दैनिक खानुपर्ने भन्ने होइन। यसलाई महिनामा १-२ पटक खानु र विशेष परिस्थिति सुत्केरी¸ बच्चाबच्चीहरु लामो समयदेखि रोगसँग लडिरहेका¸ स्टामिना कम भएका चोट-पटक लागेका व्यक्तिले आवश्यकता अनुसार खान सक्छन्।

(कार्की आयुर्वेद अन्तर्गत प्रसूति एवं स्त्रीरोग विशेषज्ञ हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button