
२०७७ श्रावण २५ आइतबार
दमौली, २५ साउन। अबिरल वर्षासँगै आएको बाढीका कारण तनहुँमा दुई करोडभन्दा धेरै रकम बराबरको माछा नष्ट भएको छ। माछापालक किसानको पोखरीमा अविरल वर्षासँगै आएको बाढीले तनहुँका अधिकांश पोखरीहरू बगरमा परिणत भएका छन्।
बिक्री गर्नका लागि तयार भएको माछा बगाएपछि तनहुँका झण्डै २५ भन्दा धेरै किसानहरु मर्कामा परेका हुन्। खोलाका किनारमा निर्माण गरिएका अधिकांश पोखरीहरुमा बाढी पसे लगतै सबै माछामा बगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर बालकुमार श्रेष्ठले जानकारी दिए।
बाढीका कारण कतिपय पोखरीको भौतिक संरचना समेत ध्वस्त भएको श्रेष्ठले जानकारी दिए। विक्रीका लागि तयारी अवस्थामा रहेको माछा बगाएकाले कतिपय माछा पालक किसानहरुको माछापालन व्यवसायबाट विस्थापित हुने खतरा समेत रहेको श्रेष्ठले बताए। तनहूँमा व्यवसायिक रुपमा दर्ता गरी झण्डै ५० भन्दा धेरै फर्महरु सञ्चालनमा रहेका छन्।
यसरी दर्ता गरी सञ्चालित फर्महरु मध्ये झण्डै २०/२५ वटा फर्महरुलाई प्रत्यक्ष असर परेको श्रेष्ठले जानकारी दिए। बाढीबाट भएको क्षतिको विवरण संकलन गरि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा पठाइने केन्द्रले जनाएको छ। तनहुँका व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिकामा माछापालन व्यवसायीहरूको उल्लेख्य संख्या रहेको केन्द्रले जनाएको छ।हलोखबर



