मूल खबर

समुदायमा कोरोना संक्रमण : ‘फनफनी’ अस्पताल,उपचार नहुँदै निधन

२७ श्रावण २०७७, मंगलवार

मोतीराम तिमल्सिना,काभ्रे ।

साउन २६ गते सोमबार काठमाडौको किस्ट अस्पतालमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टी भएकी ५० बर्षिया महिलाको कोरोना सम्वन्धी उपचार शुरु नहुँदै निधन भएको भएको छ । चारवटा अस्पताल पुगेर उपचार नपाए पछि पाँचौ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

‘साउन १८ गते आईतबार आमालाई ज्वरो आउने र पेट पोल्ने समस्या देखियो’– १५ बर्षीय कान्छो छोराले भन्नुभयो–‘१९ गते जनै पूर्णीमाको दिन उहाँले बँगुरको मासु र रक्सि सेवन गर्नु भएको थियो । तर पनि उहाँलाई कम नभए पछि मेडिकलको औषधी सेवन गराईयो । घट्ने भन्दा रोग बढ्दै गयो । जण्डिस र टाईफाईड भएको शंका लागे पछि साउन २३ गते शुक्रबार पाँचखाल नगरपालिकाको स्वास्थ्य चौकीमा जचाउँन लगियो ।’ आमालाई कान्छो छोराले सार्वजनिक यातायात चढाएरै पाँचखाल स्वास्थ्य चौकी पु-याउनु भएको थियो । स्वास्थ्य चौकीको सामान्य चेकजाँच पछि उहाँलाई धुलिखेल अस्पताल रिफर गरियो ।

‘दाई काठमाडौ बस्ने, दिदी भिनाजु भक्तपुरमा बस्ने भएकाले उहाँहरुसँग सल्लाह ग-यौं’– कान्छो छोराले भन्नुभयो–‘भक्तपुर नै आउनु यतैको अस्पतालमा देखाउने भने पछि पुनः पाँचखालबाट धुलिखेलसम्म, धुलिखेलबाट साँगासम्म, साँगाबाट भक्तपुरसम्म सार्वजनिक यातायात चढेर दिदीको घरमा पुग्यौं ।’ दिदीको घरमा २३ गते राति बास बसेर उपचारका लागि २४ गते शनिबार भक्तपुर अस्पताल पुर्‍यईयो । भक्तपुर अस्पतालले आफुसँग भेन्टिलेटर नभएको, कोरोनासँग सम्वन्धित परिक्षण गर्ने मेशिन नभएकाले तत्काल केएमसी अस्पतालमा रिफर ग-यो ।

पुनः सार्वजनिक बस मार्फत महिलालाई केएमसी अस्पताल पु-याईयो । केएमसी अस्पतालको आकस्मिक कक्षमा एक घण्टा राखे लगत्तै अस्पतालले अन्यत्र लैजान भन्यो । ‘तपाईहरुले यो अस्पतालमा खर्च हुने पैसा तिर्न सक्नु हुन्न, भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने रहेछ, त्यसको पनि अभाव छ, कम पैसा खर्च हुने अस्पतालमा पाटनमा लैजानु भनियो’– मृत्यु भएकी महिलाको जेठो छोराले भन्नुभयो – ‘तत्काल पाटन अस्पताल पु¥यायौं । पाटन अस्पतालमा पाँच घण्टा राखियो तर भेन्टिलेटरमा राख्न असम्भव भएकाले अर्काे अस्पताल खोज्न भनियो । हामी आफैले किस्ट अस्पतालमा फोन गरेर विरामी भर्ना गर्ने अनुमति लिएर लग्यौं ।’

किस्ट अस्पताल पु¥याउँदा शनिबार ढिला भईसकेको थियो । ‘अस्पतालले विरामी बचाउन कठिन छ तर पनि हामी प्रयास गर्छाै भन्यो’–महिलाको भतिजले भन्नुभयो–‘रातको ९ बजे अन्टिसँग हामी परिवारका सबै सदस्यले फोनमा कुराकानी ग-यौं उहाँले मलाई सियोले घोचेर मार्न लागे, खान पनि दिएका छैनन घरमै लैजाओ भन्नु भएको थियो ।

रगत परिक्षणका लागि उहाँले आनाकानी गरे पछि डाक्टरले परिवारसँग सल्लाह गरेका थिए । विषम परिस्थितीमा श्वास छउञ्जेल आश हुन्छ उपचार गरौ हामी जे भोग्न पनि तयार छौं भन्ने अनुमति दिए पछि उहाँहरुले उपचार शुरु गर्नु भयो ।’ शनिबार राति नै उहाँलाई जण्डिस देखिएको, कलेजो, छाति, फोक्सो विग्रिएकाले उपचार असम्भव भएको बताईएको थियो । तर पनि उपचार हुँदै थियो विहान ९ बजे मृत्यु भएको अस्पतालले घोषणा ग-यो । परिवारका सबै सदस्य स्तब्ध भए ।

लगत्तै वडा कार्यालय पाँचखाल नगरपालिका वडा नम्वर १ ले मृत्यु पछिको अन्त्येष्टीका लागि पत्र बनाईदियो । त्यहि लिएर काठमाडौ पुगेको केहि घण्टामै उहाँमा कोरोना पोजेटिभ देखिए पछि सन्नाटा छायो । ‘घरमा भन्दा उहाँलाई अस्पताल डुलाउँदा डुलाउँदै कोरोना संक्रमण भयो कि भन्ने हाम्रो आशंका हो’– जेठो छोराले भन्नुभयो–‘समयमै कोरोनाको उपचार गराउन सकिएको भए उहाँमा भएका अरु रोगहरु निको हुन सक्थे कि भन्ने कुरा मनमा खट्किरह्यो ।’

साँझ नेपाली सेनाले तपाईहरुको परम्परा अनुसार दाहसंस्कार गर्न पाउनु हुन्न केहि भए हामीलाई भन्नुस भने सँगै परिवारका सदस्यहरु पशुपति पुग्नु भयो । अन्त्येष्टीका लागि आवश्यक सामाग्री परिवारका तर्फबाट उपलब्ध गराउनु भयो । ‘शवको अनुहार हेरेर मृत्युको प्रमाणपत्र बोकेर घर फर्कियौं’–छोराले भन्नु भयो–‘स्थानीय संस्कार अनुसार हामी दुई दाजुभाई आमाको किरिया बसिरहेका छौं । वडा अध्यक्षहरु सहितका जनप्रतिनिधिले आवश्यक सहयोग गर्नु भएको छ ।’

नगरपालिका उक्त क्षेत्रमा कडाई गरेको छ भने सम्पर्क ब्यक्तिको स्वाव संकलन शुरु गरेको छ । उहाँमा कहाँबाट कोरोना संक्रमण भयो ? खोजिको विषय बनेको छ । जिल्लामा १२ बर्षिय बालक देखि ९२ बर्षका बृद्धसम्म कोरोना संक्रमण देखिएको छ । ५३ जनामा कोरोना संक्रमण देखिएकोमा एक महिलाको निधन भएको छ । कोरोनालाई देखाउँदै अस्पतालहरुले गम्भिर प्रकृतिका विरामीहरुको उपचारमा आनाकानी गर्दै आएका छन् ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button