खबर

काठमाडौंमा मास्क प्रयोग नगर्नेलाई कारवाही शुरु

३० श्रावण २०७७, शुक्रबार
पुष्पराज भट्टराई, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क प्रयोग नगर्नेलाई कारबाही गर्न थालेको छ । काठमाडौंमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि सामान्य सावधानी अपनाउँदा संक्रमणबाट जोगाउनका लागि मास्कको प्रयोगमा जोड दिनुका साथै अटेर गर्नेलाई कारबाही गरिएको हो ।

केही दिनयता मास्कको प्रयोग नगरी हिँड्ने तथा सवारी साधन चलाउनेलाई फिल्डमै उत्रिएर कारबाही थालिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो ।

बिहीबार काठमाडौ महानगरपालिका वडा नं. ११ स्थित त्रिपुरेश्वर क्षेत्रमा ६७ जनालाई कारबाही गरी प्रतिव्यक्ति एक सय रुपियाँका दरले जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।

बा५३प६२०९को स्कुटर चलाइरहेकी अश्वीनी गुप्ताले माक्स नलगाउँदा रु १ सय जरिवाना तिरेको बताइन् । ‘मबाट स्वास्थ्य प्रोटोकलको पालना भएन आफैंलाई पश्चाताप लाग्यो ।’ सहायक प्रमुख जिल्ला अधिकारीसँगै सडकमा जम्काभेट भएपछि उनले आफू निशब्द बनेको बताइन् ।

महावीर हेलमेट हाउस त्रिपुरेश्वरका कर्मचारी महेश गुरुङले पानी खान भनेर खोलेको मास्क लगाउन बिर्सिँदा कारबाहीमा परिएको सुनाए । ‘स्वास्थ्य चेतना त छ नि घरिघरि ध्यान पुग्दोरहेनछ । अब मबाट यस्तो लापरबाही हँुदैन ।’

सडकमा हिँडिरहेका अर्का बटुवाले भने सहायक प्रजिअको टोली देख्नेबित्तिकै हत्त न पत्त खल्तीबाट रुमाल झिकेर मुखमा बाँध्दै भने, ‘बैंक जान हतार भयो मास्क अफिसमा नै छोडियो । एक पटकलाई माफ गरिदिनुहोस् ।’

‘जिल्ला प्रशासन कार्यालयबाट दैनिक तीनचार टोली भएर माक्स लगाउन अटेर गर्नेहरुलाई ठाउँकोठाउँ कारबाही शुरु गरिएपछि कारबाहीमा परिने डरले मास्क लाउने बढेसँगै जरिवाना तिर्नेको संख्या घट्दै गएको बताउनुहुन्छ ट्राफिक प्रहरी वृत्त कालिमाटीबाट खटिएका प्रहरी सहायक निरीक्षक टेकबहादुर श्रेष्ठ ।

कारबाही गर्नुअघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय काठमाडौंको समन्वयमा एक सातासम्म जोरबिजोर प्रणाली र मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

मास्क प्रयोग गर्न अटेर गर्नेलाई कारबाहीस्वरुप जरिवाना तथा कारोना भाइरसको बारेमा जानकारी गराएर छाड्ने गरिएको तथा स्वास्थ्य सावधानी नअपनाई भिडभाड गरी हिड्डुल गर्न थालेपछि कोरोना संक्रमण फैलने डरले कारबाही गर्न थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button