३० साउन २०७७
मेचीनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको अहिलेको सरकार आम नेपाली जनताको सरकार नभएर यो केही कम्युनिष्टहरुको मात्रै रहेको आरोप लगाएकाछन्।
झापाको कमल गाउँपालीकास्थित लखनपुरमा शुक्रबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सिटौलाले आफ्ना कार्यकर्तालाई मात्रै सरकारले जनता देख्ने गरेको टिप्पणी गरेका थिए । अहिले कम्युनिष्टहरुको लागि मात्रै सरकार रहेको र अन्य नागरिकको बेहाल भएको भन्दै नेता सिटौलाले कोरोना संक्रमण नियन्त्रणका लागी गरिएको लकडाउनको अवधिमा श्रमिकहरु बिचल्लीमा पर्दा पनि सरकारले नहेरेको आरोप समेत लगाए ।
आम निर्वाचनबाट जितेर गएपछि आफूलाई भोट नहाल्ने जनताको पनि सुरक्षा सरकारमा बस्नेले गर्नुपर्नेमा कम्युनिष्टहरु पार्टी कार्यकर्ता, त्यसमा पनि गुटभित्र सीमित भैदिंदा आम नेपाली जनताले राज्यका तफैबाट पाउने सेवा सुविधा निर्वाध उपभोग गर्न नपाइरहेको उनले बताए ।
नेता सिटौलाले हजारौं श्रमिकहरु राजधानी काठमाण्डौबाट पैदलै गाउँ फर्किंदा समेत सरकारले नदेखेको भन्दै उहाँले आप्mना कार्यकर्ता बाहेक अरुलाई जनतानै नदेख्ने शैलिका कारण लाखौं नेपालीहरु विदेशमा अलपत्र पर्दा पनि सरकारले उद्धार नगरेको बताए ।
सरकारले अदालतदेखी प्रशासनसम्म आप्mनो कब्जामा पार्न खोजेको भन्दै उनले लोकतन्त्रका लागि लडेको कांग्रेसलाई यस्तो सैह्य नहुने समेत बताए । कांग्रेसले कुनै पनि किसिमको अधिनायकबाद नसहने भन्दै उहाँले मुलुक कम्युनिष्ट अधिनायकबादमा फस्न लागेको आरोप समेत लगाएका थिए ।
अर्को एक फरक प्रशंगमा बोल्दै नेता सिटौलाले कांग्रेसको आगामी महाधिवेसनबाट आउने नेतृत्वले सबै कार्यकर्ताको भावना समेटेर बृहत कांग्रेस निर्माण गर्नुपर्ने बताए । अहिले युवा पुस्ताको आकर्षण कांग्रेसमा बढिरहेको भन्दै उनले सबैलाई समेटेर एउटै कांग्रेस बनाउने नेतृत्व चुन्नु पर्ने समेत बताए ।
यसैबीच झापाको कमल गाउँपालीकामा बिभिन्न पार्टी परित्याग गरी करिब दुई सय व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेता सिटौलाले स्वागत गरेका थिए ।



