खबर

झापाका चार पालिकाका १५ वडामा निषेधाज्ञा

६ भदौ २०७७

मेचीनगर । समुदायस्तरमा फैलिन थालेको कोभिड –१९ को सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ ।

निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ। सो इलाकामा मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको छ ।

मेचीनगर नगरपालिकाको वडा नं। ६, ७ र ८ मा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको सबै वडामा भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।

कमल गाउँपालिकाको वडा नं ३ को फाल्गुनन्द टोल र शान्ति टोलको पूर्वमा केर्खाखोला, पश्चिममा ढ्याङ्ग्री खोला, उत्तरमा राजमार्गको दक्षिण र दक्षिणमा निहारिक स्कुल अगाडिको तेर्सो बाटोसम्म भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू भएको छ ।

यसै गरि गौरीगञ्जको वडा नं ३, ४, ५ र ६ मा अर्को सूचना नभइञ्जेलसम्मलाई निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा क्षेत्रको पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधन चलाउन रोकिएको छैन । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button