खेलकुद

दुई च्याम्पियनको भिडन्त

आइतवार, भदौ ७, २०७७

एजेन्सी – प्रतिस्पर्धा कम हुने र एकै टोलीले लगतार वर्चस्व जमाइरहने भएका कारण जर्मनी र फ्रान्सको लिगलाई फार्मर्स लिगको संज्ञा दिइएको थियो । तर, यही राष्ट्रका क्लबले स्पेन, इंग्ल्यान्ड र इटलीको क्लबलाई क्वाटरफाइनलभन्दा अघि बढ्न दिएनन् ।

जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य राष्ट्रको लिगको टोलीलाई पन्छाउदै यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएका छन् । यि दुई टोलीबीचको फाइनल आइतबार राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

बायर्न ११औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएका हुन् । बायर्नले फ्रेन्च क्लब लियोनलाई तथा पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई समान ३–० ले हराउँदै फाइनलमा स्थान बनाएका थिए । यस्तोमा पीएसजी पहिलोपटक च्याम्पियन बन्ने दाउमा हुँदा बायर्न छैटौपटक च्याम्पियन बन्ने योजनामा हुनेछ ।

दुवै टोली च्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने सुरमा हुनेछन् । उत्कृष्ट खेलाडीले भरिएको दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । उपाधिको बलियो दावेदार बायर्नले यो सिजन ५१ खेल खेल्दा ४२ जित, ४ बराबरी र ५ हारको नतिजा निकालेको छ । यसक्रममा बायर्नले घरेलु दुई प्रतियोगिता जित्दै एकमा उपविजेता बनेको छ । यसक्रममा बायर्नले १५८ गोल गर्दा ५० गोल खाएको छ ।

बायर्नका लागि रोवर्ट लेवान्डोस्की गोल मेसिनको रुपमा उभिएका छन् । उनले ४६ खेलमा ५५ गोल गर्दै यो सिजन सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । उनले च्याम्पियन्स लिगमा मात्रै १५ गोल गरिसकेका छन् । उनी एक सिजन १७ गोल गर्ने इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा मात्रै पछि छन् । उनी रोनाल्डोको कीर्तिमान बराबरी या तोड्ने अभियानमा हुनेछ ।

पीएसजीविरुद्ध लेवान्डोस्की नै मुख्य हतियार हुनेछ । बायर्नसँग थोमस मुलर, लियोन गोरेट्ज्का, सर्जी जिनाब्री, म्यानुयल नुएर, अलफन्सो डाभिस, जेरोमी बोएटिङ र जोसुवा किम्मिचजस्ता खेलाडीको साथ रहनेछ ।

यता, यस सिजन फ्रान्सको घरेलु फुटबलका चार उपाधि जितिसकेको पीएसजी सिजनको पाँचौ उपाधि जित्दै च्याम्पियन्स लिगम जित्दै इतिहास रच्न चाहन्छ । सिजनको सुरुवातमा फ्रान्सेली सुपर कप जितेको पीएसजीले फ्रेन्च लिगसँगै फ्रेन्च कप र फ्रेन्च लिग कप जितेको थियो । पीएसजीले यो सिजन ४८ खेल खेल्दा ४० जित ४ बराबरी र हारको नतिजा निकालेको छ । यसक्रममा १३६ गोल गर्दा ३४ गोल खाएको छ ।

पीएसजीका लागि केलियन एमबाप्पे र नेयमार जस्ता विश्वस्तरिय खेलाडीको साथ रहेको छ । एमबाप्पेले यो सिजन ३० गोल तथा नेयमारले १९ गोल गरेका छन् । यस्तै मौउरो इकार्डी, मार्किन्योस, एन्जल डी मारिया र जुआन बर्नाट, थियागो सिल्भा, पाब्लो साराविया, एन्डर हरेरा, जुलियन ड्राक्सलर, थिलो केरहर र इरिक म्याक्सिम चुपो मोटिङ जस्ता खेलाडीहरु रहेका छन् ।

बायर्न र पीएसजीको पछिल्लो तीन खेलमा बायर्न दुई पटक तथा पीएसजी एकपटक विजयी भएको छ । यि दुई टोली पछिल्लोपटक २०१८ मा च्याम्पियन्स कपमा भिडेका थिए । जसमा बायर्न ३–१ ले विजयी भएको थियो । त्यसअघि च्याम्पियन्स लिगको समूह चरणमा बायर्नले ३–१ ले जित्दा पीएसजीले पनि ३–० को जित निकालेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button