११ भदौ २०७७
सुरुङ्गा । पीडित पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा गाउँपालिका ३ का रफिक आलमको लाश आज उनका आफन्तले उठाएका छन्।
झापाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको वार्तामा पीडित पक्षको माग संबोधन गर्ने सहमति भएको हो । मृतक परिवारलाई न्यूनतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिने , घटनामा दोषी देखिएमा सुरक्षाकर्मीलाई विभागीय कार्वाही गर्ने , किरिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने, मृतकका छोराछोरीको पठनपाठनका लागि संघीय र प्रदेश सरकारसँग पहल गर्नेलगायतका माग संबोधन गर्ने सहमति भएको हो । विभिन्न ११ वटामध्ये मृतक परिवारले राखेको शहीद घोषणाको माग भने अस्वीकार गरिएको वार्तामा सहभागी नेकपाका स्थानिय नेता रुद्र बजगाईले बताए। घटनाको छानविनका लागि गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सो समितिले घटनाको छानविन गरी सुरक्षाकर्मी दोषी देखिएमा कार्वाहीका लागि सिफारिस गर्ने जनाइएको छ । वार्तामा सबै राजनीतिक दलका प्रतिनिधि , सांसदहरु , गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , मृतक परिवारका प्रतिनिधिलगायतको सहभागिता रहेको थिय। सहमतिपछि बीएण्डसीबाट लाश उठाई आफन्तले लिएर गएको बजगाईले जनाएका छन् ।



