मूल खबर

पूर्वी लद्दाखमा फेरि भारतीय र चिनियाँ सेना भिडे

२०७७ भाद्र १५

न्युज एजेन्सी । लद्दाखमा भारतीय र चिनियाँ सेना भिडेका छन् । भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको छ । भारतले चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको दावी गरेको छ । चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको भारतको दावी छ ।

चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताए पनि चीनले भने यस विषयमा हालसम्म केही बताएको छैन ।

भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । साथै यस झडपमा भएको हताहतीको विषयमा पनि कुनै जानकारी दिइएको छैन ।

गत जुन १५ मा पनि भारतीय र चिनियाँ सेना आपसमा भिडेका थिए । उक्त भिडन्तमा २० भारतीय सेनाको मृत्यु भएको थियो भने सैयौं घाइते भएका थिए । साढे २ महिनापछि पुनः दुई देशका सेनाबीच सीमाको विषयमा झडप भएको हो ।

भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच भएको हालको झडपको विषयमा जानकारी दिएको हो । ब्युरोले भनेको छ,‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई रोकिदिएको छ। भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ । साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ ।’

भारतीय सेनाका अनुसार हालैको झडप दुईदिन अगाडि अगष्ट २९ को राति भएको थियो । चिनियाँ जनमुक्ति सेनाले सीमाको यथास्थितीलाई परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले प्रतिकार गर्दै त्यस्तो हुन नदिएको भारतको भनाइ छ । गतहप्ता मात्र भारतका विदेशमन्त्री एस जयशंकरले चीनसँगको वास्तविक नियन्त्रण रेखामा सन् १९६२ यताकै सबैभन्दा ठूलो तनाव उत्पन्न भएको बताएका थिए ।

उनले भनेका थिए, ‘निश्चित रुपमा सन् १९६२ पछि यो नै गम्भिर अवस्था हो। यति मात्र नभएर ४५ वर्षपछि चीनसँगको संघर्षमा सैनिक मारिए। दुवै देशले सेना अप्रत्याशित रुपमा तैनाथ गरेका छन् ।’

यसअघि भारतका चिफ अफ डिफेन्स स्टाफ तथा पूर्व सेना प्रमुख जनरल बिपिन रावतले चीनसँग सीमाको विषयमा छलफल जारीरहेको बताएका थिए। उनले छलफलले निष्कर्ष ननिकाले सैन्य विकल्प बाँकी रहेको बताएका थिए ।

पूर्वी लद्दाखमा पछिल्लो समय चीनले आफ्ना सेनाहरु बढाएर तैनाथ गरेको छ । भारतले पनि सोही मात्रामा सेनाहरु तैनाथ गर्न थालेको छ ।moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button