चुनावका बेलामा आफ्नो पार्टीको ध्वजा पतका बोकेर कराउने मध्येका उनी एक हुन् । हुनत उनको पार्टीको सरकार बन्दा उनी जति हर्षविभोर थिए सुस्तरी उनी सुस्ताउँदै पनि गएका थिए । मेरो अड्कलमा लाग्छ पार्टीको नीति, विचार, सिद्धान्त अनुसारनै सरकार चल्दै गएकाले होला उनी कमरेडमा सुस्तता आएको हो । उनी मेरा पुराना परिचित मित्र हुन् । बेलाबेलामा उनको पार्टी भित्रको रडाको सुनेर मसँग असन्तुष्टिका कुरापनि चलाउँथे , मैले हाकाहाकी उनलाई भन्दै आएको थिएँ ‘ तपाईँको पार्टीमा जे भनिन्छ त्यो गरिदैन र जे गरिन्छ त्यो पटक्कै भनिदैन यही हो तपाईको पार्टीको परिचय ’ । मैले यसो भनिरहँदा बेला बखतमा मसँग उनी झन्किन्थे पनि तर म जे हो त्यही भनिदिन्थेँ । हुनपनि उनको पार्टीको विशेषतानै यही हो । नाम सर्वहाराको काम शाहुहरुको , नाम मजदुर र किसानको काम सबै मालिकको, नाम जनवादी काम धनवादी आदि धेरैछन् उनको पार्टीका चारित्रिक विशेषताहरु । तर, यस पटक भने अलिक बिलिन मुहारमा उनले भने ‘ तपाईले भनेको हो कि क्याहो ?पद जति सबै नेतालाईनै चाहिने रहेछ जस्तो लाग्न थाल्यो ’ । हो कि क्याहो होइन कुरोनै त्यही हो मैले उनको बोली भुइँमा पर्न नपाउँदै जवाफ लगाएँ । पद मात्रै होइन यो सबै अर्थात लोकतन्त्र जो हामी सबैको भनिन्छ नि यो भन्नका लागि भनिएको हो यसको सर्वाधिकार सबै तपाईका पार्टी जस्तै अरु पार्टीका पनि नेताका लागि हो उनी अलिक गंभीर भए, मैले फेरि थपिदिएँ — ‘ यो लोकतन्त्रमा पाईने जति सबै उहाँहरुको हो अनि नपाईने र आश देखाईने तपाई हाम्रो हो’ ।
बिचरा कमरेडमा भएको भ्रमलाई अलिक सफा गरिदिन मन लाग्यो र मैले उनलाई मेरा थोरै कुरा सुन्न अनुरोध गरेँ । कमरेड ‘ अहिले जसरी यो सरकार चलेको छ तपाईँ कुन कोणबाट हेरेर भन्न सक्नु हुन्छ कि यो कम्युनिष्टको सरकार हो ? अहिले तपाईँको पार्टीमा जसरी चाकडि, चाप्लुसी, गुट, उपगुट र धनवानहरुको हालिमुहाली छ नि तपाई कुन दर्शनबाट भन्नु हुन्छ कि यो कम्युनिष्ट पार्टीनै हो ?पदमा जानेनै नेता भन्नेहरुले हो अनि सबै सुविधा लिने भनेकोनै उहाँहरु र उहाँका धुपौरो बोक्नेहरुले हो अनि तपाईँ अहिले पनि आफ्नो पार्टीलाई कम्युनिष्टनै भनेर भा्रन्तीमा पर्नु भएको छ । चित्त दुखाउने काम छैन उहाँहरुले जे गर्न जानु भएको हो त्यही गरिरहनु भएको छ, अब पछि चुनाव आउँछ , तपाईँलाई तपाईँका पार्टीका नेताले आएर एक पटक धाप मार्छन् ,तपाईँ मख्ख अनि ध्वजा पतका बोकेर फेरि कुद्नु हुन्छ फेरि कुरो जस्ताको तस्तै हुन्छ ’ ।
मेरा कुराले उनको मन पनि छोयो कि मथिङ्गलमा मात्रै छोयो यसपटक भने कमरेड अलिक धेरै गंभीर बनेको आभाष हुन्थ्यो । उनले ढिलाढिलो पारामा भने— हो नै भन्नु पर्छ , मैले चाल पाए देखि तिनै मान्छेहरुनै सधै पदमाछन्, पार्टीमा लाखौँ कार्यकर्ताछन् भन्छन् लाखौँ कार्यकर्तामा सयौँ नेता त हुनु पर्ने हो तर ढिलोछिटो उनीहरुनै हुन्छन् , खै के भन्ने के भन्ने ? मैले उनलाई सान्तवना दिदै भनेँ — दोधारमा किन पर्नु हुन्छ , तपाईलाई कमरेडनै शब्द मन पर्छ र पार्टीको औधी प्रेम छ भने यही पार्टीमै बस्नुहोस तर एउटा कुरा चाँही के पक्का हुनुहोस भने तपाईको पार्टी अब भोकाहरुको पार्टी होइन, तपाईको पार्टी अब क्षमता र अवसरका आधारमा होइन तपाईको पार्टी चाकडी , चाप्लुसी, गुट, उपगुट तथा आर्थीक हैसियतका आधारमा संचालन हुने भएकाले मन दुखाउने काम गरेर मन खराब गर्नु भन्दा मन बुझाउने तर्फ लाग्नुहोस । मलाई पनि थाहा उनी कमरेड निष्ठाका मान्छे हुन् भन्ने मैले थाहा पाएदेखि उनी निरन्तर आफ्नो पार्टीमा लागिनै रहेका मान्छे हुन् र उनी जस्ता हजारौँ पार्टीलाई मायाँ गर्ने मान्छेहरु आज पनि उनको पार्टीमाछन् तर उनीहरुका सबै सपनाहरु उनकै पार्टीका नेताहरुले क्षितिजपारिको कुनै गुमनाम गाउँमा लगेर लुकाई दिएकाछन् र यहाँ लोकतन्त्रका नाममा लोकतन्त्रको मसिहा आफैलाई ठानेर लोकतन्त्रका सबै सुविधा लिएर जनवादको नारामा बिचरा कार्यकर्ताहरुलाई रनभुल्लमा पारिरहेकाछन् ।
0 20 2 minutes read



