
काठमाडौँ : नेकपा मकवानपुरका पूर्वसेक्रेटरी पासाङले नेकपा परित्याग गरी स्वतन्त्र बसेको भनी आफ्नो नाम पनि जोडेर प्रचार गरेको भन्दै नेकपा मकवानपुरका कार्यकर्ताहरूले आपत्ति जनाउनुका साथै एकपछि अर्को विज्ञप्ति जारी गरिरहेका छन् ।
यसैबीच नेकपाका वसन्त लामाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीबाट भागेका भगौडाहरूले सामाजिक सञ्जालमा आफ्नो राजनीतिक जीवन, पार्टीप्रतिको आस्था र जनताप्रतिको भरोसामा खेलबाड गर्ने तरिकाले पार्टी परित्याग गरेको भनी चरित्रहत्या गरेको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । साथै पार्टीको नाम बेचेर खाने केही अवसरवादी गुन्डा र कायरहरूले झूट र भ्रम उत्पन्न गरेको भन्दै उक्त भ्रममा कोही पनि नपर्न पनि उनले आग्रह गरेका छन् । उनले जीवनको अन्तिम क्षणसम्म पनि क्रान्तिका पक्षमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै मकवानपुरका केही स्थानीयले पनि सामूहिक विज्ञप्ति जारी गर्दै विप्लव नेकपा परित्याग गरेको भनी सञ्चारमाध्यममा फैलाइएको हल्लामा आफूहरूको नाम पनि जोडिन आएको भन्दै उक्त हल्ला निराधार भएको बताएका छन् ।

स्थानीय राजीवकुमार लेखी, केशर बस्नेत र आक्रोश चेपाङले पनि विज्ञप्ति जारी गरेर कुनै पनि पार्टीमा नलागेर घरमै व्यापारव्यवसाय गरेका आफूहरूलाई नेकपाको सदस्य रहेको र पार्टी परित्याग गरी स्वतन्त्र बसेको भनी फैलाइएको समाचार झूट र भ्रमपूर्ण रहेको उल्लेख गरेका छन्।२०७७, २२ भाद्र , ई-रातो खबर



