
२३ भाद्र २०७७, मंगलवार ०७:३१
जनादेश विश्लेषण ।
नेकपा उपाध्यक्ष बामदेव गौतम छिट्टै उत्साहित हुने र छिट्टै निराश पनि भैहाल्ने नेता मानिन्छन् । र उनको मनस्थितिलाई अन्य नेताहरुले प्रयोग गर्ने अवसर पाउँछन् ।
गत फागुनमै राष्ट्रियसभामा जाने पक्का भैसकेका बामदेव अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण जान पाएनन् । ६ महिनापछि नेकपाले पुन: सोही निर्णय गरेको छ तर साता वित्दा पनि निर्णय कार्यान्वयन हुन सकेको छैन ।
गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्नुपर्छ तर भदौ १९ को मन्त्रिपरिषद् बैठक बामदेवबारे मौन रह्यो । सोमबारको नियमित मन्त्रिपरिषद् बैठक ओलीले राखेनन् । गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारले राष्ट्रपति समक्ष अहिलेसम्म सिफारिस गरेको छैन ।
यस अघि निर्णय तुहाइदिएका ओलीले अहिले गरिरहेको विलम्बले नेकपाभित्र शंका उपशंका बढेका छन् भने बामदेव निराश हुने संकेत देखिएका छन् । ओली निकटहरुले निर्णय कार्यान्वयन हुने तर तत्काल नहुने संकेत गरेका छन् । उपयुक्त समयमा हुने भन्दै अमुर्त भाषा बोलेर उनीहरुले शंका गर्नेहरुलाई मौका दिएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनमा बढी दाउपेच
पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सरकारको काम प्रभावकारी बनाउन पार्टी र सरकारबीच समन्वयसँगै मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव गरेपछि नेकपाभित्र यसमा चासो बढी छ ।
ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति गरी शुक्रबार स्थायी कमिटी बैठक डाक्न लगाएका छन् । स्थायी कमिटी बैठकपछि मात्रै मन्त्रिपरिषद् पुनगर्ठन गर्ने ओलीको तयारी छ । यस अघि ओलीले १९ गतेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएर पार्टीभित्र पुनः रहस्य पैदा गरिदिएका थिए ।
अर्थमन्त्रालय कसलाई दिने भन्ने विषयमा ओली र इत्तर समूहको ठूलो रस्साकस्सी छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको अर्थ र सूचना तथा सञ्चार मन्त्रालय ओलीले आफैसँग राखेका छन् । हाल तीन मन्त्रालय मन्त्री बिहीन छ। अहिले अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा मन्त्री छैनन् ।
गौतमले राष्ट्रिय सभामा उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारीमा आकाँक्षा राखेपछि ओलीले उनको सिफारिश र मन्त्रिपरिषद् पुनर्गठन दुवैलाई ‘पज’मा राखिदिएका छन् ।
ओलीले अर्थमन्त्रालय आफैंसँग राख्ने र खतिवडालाई आफ्नो सचिवालयमा राखेर चलाउने सम्मको विकल्प सोचिरहेको नेताहरु बताउँछन् ।
अहिले मन्त्रिपरिषदमा रहेका नेताहरु आफ्नो निरन्तरता र अन्य नेताहरु पुनगर्ठित मन्त्रिपरिषद्मा प्रवेशलाई लिएर दौडधूप चलिरहेको छ ।
विष्णु पौडेल भर्सेज सुरेन्द्र पाण्डे

खाली रहेको अर्थ मन्त्रालयको जिम्मेवारी लिन पूर्वअर्थमन्त्री भइसकेका र ओलीका प्रियपात्र नेकपा महासचिव विष्णु पौडेल र माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे अर्थमन्त्रीबीच मुख्य प्रतिस्पर्धा छ ।
आफूलाई हरहमेशा साथ दिँदै आएका पौडेल अर्थको जिम्मेवारी लिन तयार भए पनि ओलीले निर्णय गरिसकेका छैनन् । सकेसम्म आफैंसँग मन्त्रालय राखेर खतिवडाको साथमा चलाउने उनको सोच छ । र दिनैपरे सुरेन्द्रको सट्टा विष्णु उनको रोजाईमा पर्ने निश्चित छ ।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड आफ्नै गृहजिल्लाका नेता तथा माधव नेपाल पक्षका भएका कारण सन्तुलित हुने सुरेन्द्र पाण्डेको पक्षमा छन् । अर्थराजनीति बुझेका पाण्डे उक्त पदका लागि योग्य भए पनि इतर खेमाका भएकाले ओलीले जिम्मेवारी दिन नचाहेको बताइन्छ ।



