शनिबार, अशोज ३, २०७७
एजेन्सी – लन्डन क्लब चेल्सीले यसै समरमा अनुबन्ध गरेका तीन नयाँ खेलाडी थियागो सिल्भा, बेन चिलवेल र हाकिम जियाचले प्रिमियर लिगको दोस्रो खेल पनि गुमाउने भएको छ ।
प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनविरुद्ध ३–१ को जित निकालेको खेलमा पनि उपलब्ध नरहेका यि तीन खेलाडीले फिटनेस र चोटका कारण लिभरपुलविरुद्धको खेल पनि गुमाउने पक्का भएको क्लबका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रष्ट पारेका छन् । उनले क्रिस्टियन पुलिसिकसमेत एनफिल्ड क्लबबिरुद्ध मैदान नउत्रने प्रष्ट पारे ।
चेल्सी र लिभरपुलबीचको खेल चेल्सीको मैदानमा आइतबार राति नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । उनले पहिलो रोजाईका खेलाडीको बिषयमा जानकारी दिदै लिभरपुलबिरुद्ध मुख्य फरवार्ड टिमो वेर्नर भने टोलीसँग रहने बताएका छन् । ब्राइटनविरुद्ध लिगमा डेब्यु गर्ने क्रममा वेर्नरले चोट बोकेका कारण दोस्रो खेल गुमाउन सक्ने बताइएको थियो ।
‘वेन चिलवेल र पुलिसिक खेलका लागि तयार छैनन्,’ लाम्पार्डले भने, ‘आशा गरौ, उनीहरुले अभ्यास गरिरहेका छन् । केही हप्तामा सफलता प्राप्त हुनेछ । हाकिम जियाच समेत खेलका लागि तयार छैनन् । तर वेर्नर भने फिट छन् । थियागोले हामीसँग अभ्यास गरिरहेका छन् । उनी पछिल्ला तीन, चार दिनदेखि हामीसँग छन् । हामी उनको फिटनेसमा काम गरिरहेका छौ । लिभरपुलका खेल उनका लागि निकै चाँडो आयो ।’
चेल्सीले प्रिमियर लिगमा ब्राइटनलाई ३–१ ले हराउँदै सिजनको सुखद सुरुवात गरेको थियो । लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा नवप्रवेशी लिड्स युनाइटेडमाथि ४–३ को संघर्षपुर्ण जित निकालेको थियो ।hamrokhelkud/from



