खबर

चिनियाँसँग मिलेर जासूसीमा स‌ंलग्न भएको आरोपमा दिल्लीमा समातिए नेपाली

४ आश्विन २०७७, आईतवार

जनादेश, काठमाडौं ।

भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेच्ने कार्यमा संलग्न भएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । दिल्ली पुलिसको स्पेशल सेलले ३० वर्षीय शेर सिंह उर्फ राज बोहोरालाई पक्राउ गरेको जानकारी दिल्लीस्थित नेपाली दूतावासलाई गराएको छ ।

भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयका सूचना ठूलो रकम लिएर चिनियाँ पक्षलाई दिएको आरोप बोहोरामाथि लागेको छ । नयाँ दिल्लीमा राजीव शर्मा नामका एक जना पत्रकारलाई त्यस्तो रकम दिनका लागि चिनियाँको सहयोगी बनेको आरोप बोहोरामाथि लगाएर पक्राउ गरिएको हो ।स्वतन्त्र पत्रकार बताउने शर्मालाई सूचना उपलब्ध गराएबापत ठूलो मात्रामा रकम दिने क्रममा चिनियाँ महिला चिङ सी र बोहोरा पक्राउ परेको दिल्ली प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सुरक्षा रणनीतिका विषयमा लेख्ने पत्रकार राजीव शर्माले चिनियाँ गुप्तचरहरुलाई भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना दिए बापत् मोटो रकम प्राप्त गर्दै आएको दिल्ली पुलिसको आरोप छ ।

सेप्टेम्बर १४ मा पक्राउ परेका उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको जानकारी दिँदै दिल्ली प्रहरीले ल्यापटप, मोबाइल फोन लगायतका सामग्री बरामद गरिएको पनि जनाएको छ ।बोहोराको नेपाली ठेगाना स्पष्ट भइनसकेको दिल्ली पुलिसले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button