५ आश्विन २०७७
जनादेश, काठमाडौं ।
भूमिगत तथा सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्ताको असफलताका लागि संविधान संशोधन नभएर राज्यव्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन्।
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले विद्यमान राज्यप्रणााली असफल भएका कारण यसलाई फेर्नुको विकल्प नभएको बताएका हुन् ।
राज्यसत्ता परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल आवश्यक भएको बताउँदै विप्लवले यसका लागि आफ्नो पार्टी लागेको भन्दै सबैलाई यही दिशामा लाग्न आग्रहसमेत गरेका छन् ।

‘आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘यो असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो।’
संविधान दिवसको समय पारेर नेपालमा संविधान संशोधनको चर्चा चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्यको आधारमा भावनामा नवहकिइकन संविधान संशोधन गर्न सकिने बताएका थिए ।जनता समाजवादी पार्टी लगायतका दलले संविधान संशोधनको माग गर्दै आएका छन् ।



