अशोज ९, २०७७
एजेन्सी – जापनिज मिडफिल्डर ताकुमी मिनामिनोले उच्च प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले दोस्रो डिभिजनको लिंकन सिटी एफसीमाथि फराकिलो जित निकाल्दै इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।
लिभरपुलले लिंकन सिटी एफसीमाथि ७–२ को फराकिलो जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । लिभरपुलको फराकिलो जितमा ताकुमी मिनामिनो र कर्टिस जोन्सले समान दुई तथा जद्रान शाकिरी, मार्काे ग्रुजिक र डिभोक ओरिगीले समान एक गोल गरे । लिंकनका टायो इडुन र लेविस मोन्ट्माले सान्त्वना गोल फर्काए ।
सिन्सिल बैंक लिंकनमा बिहीबार राति गोलको वर्षा भएको खेलमा लिभरपुलले खेलको नवौं मिनेटमा शाकिरीको गोलबाट अग्रता लिएको थियो। १८औं मिनेटमा मिनामिनोले अग्रता दोब्बर पारे ।
३२औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपसलाई ३–० ले अघि बढाए। ३६औं मिनेटमा कर्टिसले नै व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले पहिलो हाफमा नै ४–० को आरामदायी अग्रता लिएको थियो ।
दोस्रो हाफका शुरुमै मिनामिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बन्यो । ६०औं मिनेटमा तायो इडुनले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए ।
६५औं मिनेटमा मार्काे ग्रुजिकले गोल गर्दै लिभरपुललाई ६–१ ले अघि बढाए । ६७औं मिनेटमा लेविसले गोल गरेपछि खेल ६–२ को अवस्थामा पुगेको थियो । ८९औं मिनेटमा डिभोक ओरिगीले गोल गदै लिभरपुललाई ७–२ को सानदार जित दिलाए ।hamrokhelkud/from



