मंसिर २, २०७७
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण सिरिजको दोस्रो खेलमा आज बंगलादेशको राष्ट्रिय टोलीको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ४:४५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ ।
नेपालले पहिलो खेल २-० ले गुमाएपछि अब सिरिज उपाधि जित्न त्यस नतिजालाई सुधार्नुपर्ने हुन्छ । नेपालले २-० ले जिते खेल टाइब्रेकरमा पुग्नेछ भने त्योभन्दा कम अन्तरले जिते वा खराब नतिजा हासिल गरे उपाधि गुमाउनेछ । पहिलो खेलको प्रदर्शन हेर्दा नेपालले टोलीमा निकै सुधार गर्नुपर्ने देखिन्छ ।
प्रशिक्षक बालगोपाल महर्जनले खेलको पूर्वसन्ध्यामा बोल्दै आफ्नो टोली खेलको लागि तयार रहेको बताए । ‘दोस्रो खेलको लागि तयारी अवस्थामा छौं । पहिलो खेलको कमि कमजोरी मुल्यांकन गरेर दोस्रो खेलको लागि योजना बनाएका छौं । भोलिको खेलको लागि आक्रमणमा बल राख्ने देखि बढी अवसर सिर्जना गर्ने रणनीति बुन्नेछौं,’ उनले भने ।
‘पहिलो खेलमा रक्षात्मक खेल्दा बल पोसेसन होल्ड गर्न सकेनौं । मार्कीङमा पनि हामीले सोचेजस्तो प्रदर्शन भएन । लामो समयपछि मैदान फर्किएको कारण समन्वयमा कमी देखिएको थियो ।’
‘नयाँ खेलाडी रहेकाले पनि तालमेल देख्न सकिएन । सिनियर र जुनिएरबीच एक आपसमा केहि कमजोर देखियो । सुरुवाती एघारमा केहि परिवर्तन हुन्छ होला ।’
‘हाम्रो लागि सिरिजको हिसाबले जित आवश्यक छ । त्यसका लागि प्रदर्शन र उच्च मनोबल चाहिन्छ । केहि खेलाडी पूर्ण फिट नभएपनि हामीले सक्दो राम्रो टोली उतार्नेछौं,’ उनले थपे, ‘यस्तो अवस्थामा दर्शकहरुले साथ दिनुभएको छ । हामीले अहिले फुटबलमा फर्कियौं र खेलाडीहरु पनि आफ्नो सक्दो मिहिनेत गरेका छन् ।’
फरवार्ड नवयुग श्रेष्ठले सिरिज जित्न अब बंगलादेशको नतिजालाई सुधार्नुको विकल्प नरहेको बताए । ‘हामीभन्दा बंगलादेशले अलि चांडो प्रशिक्षण सुरु गरेको भएर केहि फाइदा भयो । हाम्रो पहिलो हाफमा मिसपास भयो । हामी अलिकति कमजोर नै देखियौं । तर दोस्रो खेलमा हामीले जित्नुपर्ने स्थिति छ । दोस्रो खेलमा २-० वा ३-० ले जित्नुपर्छ,’ उनले भने ।
मिडफिल्डर सुजल श्रेष्ठले पनि फिटनेसमा केहि कमजोर देखिएको स्वीकारे । ‘लामो समयपछि फुटबल फर्कियो । हामीले सक्दो मिहिनेत गरेको हौं । दोस्रो खेलमा गल्ति सुधार गरेर खेल्ने अवसर रहेको छ । म्याच फिटनेसमा नै केहि समस्या देखिएको थियो । त्यसलाई सुधार गर्दै अगी बढ्नेछौं,’ उनले भने ।
नेपाल र बंगलादेशबीच खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम मार्फत पनि हेर्न सक्नुहुनेछ । खेल बंगलादेशको टी स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्दैछ ।



