
मंसिर २, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटघाट भएको मन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।
दुई नेताबीच भएको कुराकानीबारे विस्तृतमा जानकारी नगराइए पनि भोलि बुधबार तय भएको नेकपा सचिवालय बैठकको एजेण्डाबारेमा छलफल भएको बुझिएको केसीले बताउनुभयो । सचिवालय बैठक बुधबार दिउँसो १ बजेकालागि बालुवाटारमा तय भएको भएपनि बैठकको एजेण्डा बारेमा दुई अध्यक्षबीच मतभेद कायमै छ ।
यसअघि कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठको लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी पेश गरिएको प्रतिवेदन फिर्ताको माग प्रधानमन्त्रीले गर्नुभएको छ । अध्यक्ष ओली निकट नेताहरुले सो प्रतिवेदन फिर्ता नलिइए बैठक प्रभावित हुनसक्ने संकेत गरिरहनुभएको छ ।
पार्टीको आन्तरिक समस्या समाधानका लागि पार्टीभित्र आवश्यक छलफल हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले बैठक माग गर्नुभएपछि गत शुक्रबार सचिवालय बैठक बसेको थियो । बैठकमा प्रस्तुत प्रतिवेदनले आन्तरिक समस्या समाधानभन्दा झन बल्झाउने किसिमले आएपछि त्यसमा समाधानको प्रयास गरिएको छ । महासचिव पौडेल सोही विषयमा छलफल गर्न मंगलबार विहान अध्यक्ष प्रचण्ड निवास पुग्नुभएको बताइएको छ ।
अध्यक्ष ओलीले सो प्रतिवेदन फिर्ता गरी नयाँ शिराबाट छलफल गर्नुपर्ने प्रस्ताव राख्नु भएपनि अध्यक्ष प्रचण्डले प्रतिवेदन फिर्ता नलिने संकेत गर्नुभएको बुझिएको छ । बैठकमा प्रतिवेदन पेश भइसकेकाले छलफलबाटै निक्र्यौलमा पुग्नुको विकल्प नरहेको भनाई अध्यक्ष प्रचण्डको रहेको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच करिब एक घण्टा छलफल भएको सल्लाहकार केसीले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा देवेन्द्र पौडेल लगायतका नेताहरुसँग पनि यसअघि परामर्श गरिसक्नुभएको छ ।गोरखापत्र अनलाइन



