
आइतबार, मंसिर ०७, २०७७
मेचीनगर । लामो समयदेखि मुटुको समस्याबाट थलिएका मेचीनगरका लालकुमार लामाले उपचारमा सहयोग गर्न सम्पूणर्मा आग्रह गरेका छन्।
स्थायी घर काभ्रेको भकुण्डेवेसी नगरपालिका भएका ५० वर्षीय लामा विगत १० वर्षदेखि मेचीनगर वडा नम्बर ६ को डिल्लीराम ढकालको घरमा भाडामा बस्दै आएका छन् ।
दैनिकी चलाउन घर बनाउने ज्यामी काम गर्दै आएका लामा एक वर्षदेखि मुटुको भल्भमा समस्या आएपछि थलिएका हुन् । ज्यालादारी गरेर जिविकापार्जन गर्दै आएका लामाको उपचारमा अहिलेसम्म ४ लाख ५० हजार खर्च भइसकेको छ, लामाले भने – ‘अहिलेसम्म ऋणपान र केही सहयोगले चलो अब मेरो केही उपाय छैन ।’ काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहेका लामालाई डाक्टरले ४ महिनाका लागि औषधि खान भनेका छन् । औषधिले राम्रो नभएमा मुटुको भल्भको अपरेशन गर्नुपर्छ ।
उपचारमा समन्वय संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य रविन कोइरालाले सहयोग पुर्याएको लामाको भनाई छ । यदि औषधिबाट ठिक नभएमा अर्को अपरेशन गर्नु पर्नेछ, लामाले भने – ‘त्यसका लागि १२ देखि १५ लाखसम्म रकम लाग्ने देखिन्छ ।’ नेकपा मेचीनगर वडा नम्बर ६ का अध्यक्ष प्रितम काफ्लेले उनको उपचारमा सहयोगी बनिदिनु हुन आग्रह गरे ।
श्रीमान थलिएपछि श्रीमति लिलामाया राईले विहान बेलुका छाक टार्न जंगलको सालको पात टिपेर टपरी बुनेर बजारमा बेच्ने गरेको बताइन् । ‘आयश्रोत केही छैन, उहाँ थलिएको लामो समय भयो, घरभाडा नतिरेको पनि ३ वर्ष भयो’ लिलामायाले भनिन् – ‘तर पनि घर साहुले सहयोगै गर्नु भएको छ ।’ लामाको छाती दुख्छ, खुट्टाले हिँड्नु हुँदैन । सयौं रात छाती दुखेपछि जागै रहने गरेको लामाले बताए । ‘प्रत्येक महिना करिब १० हजारको औषधि खानुपर्छ’ लिलामायाले भनिन् – ‘अब औषधि खाने पनि पैसा छैन ।’ लालकुमारको ठूलो सपना छैन, उपचारका लागि सहयोग जुटे, बाच्थे र आफ्नो परिवारको अभिभावक बन्ने इच्छा छ ।janasamsad.com/from



