खबर

अब टोल–टोलमा कोभिड सहजीकरण समूह

मंसिर १२, २०७७
काठमाडौँ,। काठमाडौं उपत्यकालगायत अन्य जिल्ला तथा अन्य व्यापारिक केन्द्रमा कोरोना संक्तमणको दर बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वडाध्यक्षलाई पूर्ण अधिकारसहितको कोभिड सहजीकरण समूह परिचालनसम्बन्धी मार्ग निर्देशन जारी गरेको छ ।

मार्ग निर्देशनमा संक्रमण दरलाई घटाउन जनसहभागितामा रोग रोकथाम तथा नियन्त्रण क्रियाकलाप सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

कोभिड नियन्त्रण गर्न हरेक टोलमा कम्तीमा एउटा समूह गठन गर्ने, एक समूहले बढीमा ५० घरको निगरानी गर्ने, टोल सुधार, क्लब उपभोक्ता समिति, गुठीमार्फत परिचालन गर्ने मार्ग निर्देशनमा उल्लेख छ । मन्त्रालयले उपत्यका मेयर फोरम, विभिन्न स्थानीय निकायसँगको परामर्शमा मार्ग निर्देशन तयार गरेको हो ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न मार्गनिर्देशन जारी गरेको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले मार्ग निर्देशन जारी गरेलगत्तै सबै वडामा समूह गठन गर्न शुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार सबै वडाका समूह, टोल सुधार समिति, क्लबलगायत संस्थासँग आबद्ध पदाधिकारीसहितको समूह गठन गरी परिचालन गरिनेछ । मार्गनिर्देशनमा कोभिडको विषयमा समुदायस्तरमा जनचेतना फैलाउने, क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिहरुको मापदण्ड पालना गरे नगरेको विषयमा निगरानी गर्न समूह गठन गरिएको उल्लेख छ ।

सबै वडाले समिति गठन गरी सोही समितिमार्फत निगरानी गर्ने, अनुगमन गर्ने, क्वारेन्टाइन, आइसोलेसनको अवस्थाबारे जानकारी लिने, टोलमा अनावश्यक भीडभाड र भेला नगर्न सचेत गराउने, ६० वर्षभन्दा माथिका दीर्घरोगीलाई घरबाहिर नजान र जानै परेको अवस्थामा अनिवार्यरुपमा मास्क प्रयोग गर्न सहजीकरण गर्ने मार्गनिर्देशनमा उल्लेख छ ।नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button