
शुक्रबार, मंसिर १९, २०७७
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर युरोपा लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । बिहीबार राति अष्ट्रियन क्लब लास्कसँग ३–३ गोलको बराबरीमा रोकिएपनि टोटेनहमले अन्तिम ३२ मा स्थान पक्का गरेको छ ।
समूह ‘जे’ मा टोटेनहमले ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । शीर्षस्थानमा रहेको रोयल एन्टवेर्पको १२ अंक छ । लास्कको ७ तथा लुडोगोरेट्स राजग्राडले अंकको खाता खोल्न सकेनन् ।
टोटेनहमले खेलमा शुरुवातमा पछि परेपनि त्यसपछि दुईपटक अग्रता लिएरपनि जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । ४२औं मिनेटमा मिचर्लको गोलबाट घरेलु टोली लास्कले १–० को अग्रता लिएको थियो ।
४५औं मिनेटमा ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लुकास मोउराको क्रसलाई पेनाल्टी बक्समा एन्डराडेले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले टोटेनहमलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बेल चुकेनन् ।
५६औं मिनेटमा टांगी एनडोम्वेलेको पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए । ८४औं मिनेटमा जोहाननेस इगेस्टिनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
८७औं मिनेटमा डेल अलीले पेनाल्टीमार्फत गोलरगेपछि टोटेनहमले खेलमा पुनः ३–२ को अग्रता लिएको थियो । तर ९०औं मिनेटमा मामोउडोउ कारामोकोले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।
यही समूहको अर्काे खेलमा बेल्जियन क्लब रोयल एन्टवेर्पले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि ३–१ को जित निकाल्दै समूहमा शीर्षस्थानमा यथावत रहन सफल भयो ।hamrokhelkud/from



