मंसिर २३, २०७७
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्राइटनमाथि पूनरागमन जित हात पारेको छ । साउथह्याम्टनले ब्राइटनलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।
दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेर इस्ट सससेक्समा सोमबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान्निक भेस्टरगाआर्ड र ड्यानी इंग्सले गोल गरे । घरेलु टोलीका लागि पास्कल ग्रसले गरेको गोल सान्त्वना बन्यो ।
खेलको २६औं मिनेटमा घरेलु टोली ब्राइटनले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । ड्यानी वेलवेकलाईै पेनाल्टी बक्समा जेम्स वार्ड प्राउसले लडाएपछि प्राप्त पेनाल्टीमा पास्कल ग्रसले गोल गरेका थिए ।
४५औं मिनेटमा जान्निक भेस्टरगाआर्डले जेम्स वार्डको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ६०औं मिनेटमा थियो वल्कटले अवसर खेर फाल्दा साउथह्याम्टन अग्रता लिनबाट चुक्यो । ७३औं मिनेटमा रेडमन्डको प्रहार क्रसबारमा लागेर बाहिरिदा साउथह्याम्टन पुनः अग्रता लिनबाट चुक्यो ।
८१औं मिनेटमा ड्यानी इंग्सले पेनाल्टीमा गोल गर्दै साउथह्याम्टनलाई २–१ को अग्रता दिलाए । सोली मार्सले पेनाल्टी बक्समा भेस्टरगाआर्डलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै झन्डै पाँच मिनेटपछि साउथह्याम्टनलाई पेनाल्टी प्रदान गरेको थियो ।
८४औं मिनेटमा ब्राइटनका उच्च गोलकर्ता मोउपे चुक्दा ब्राइटन घरेलु मैदानमा पराजित हुन पुग्यो ।
यो जितसँगै साउथह्याम्टन ११ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन १० अंक जोडेर १६औं स्थानमा रहेको छ।hamrokhelkud/from



