नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्ने कम्युनिष्ट पार्टी लगभग दुईओटा भयौँ है भन्न मात्र बाँकी छ । विधिको कुरा गर्ने दाहाल र ओली समूहका वर्तमानका सबै कामकुराले उनीहरु दुईओटा कित्तामा सरेकाछन् अब फेरि कुनै कार्यक्रमै आयोजना गरेर फुटेको औपचारिक घोषणा हुन मात्र बाँकी छ । दाहाल र ओली समूहले आफ्नो आधिकारिक नेकपा कसको भागमा पर्ने भन्ने ध्याउन्नले मात्र मुख फोरेरै नभनेका हुन् । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्ने पार्टी फुटिसकेको सबैमा जगजाहेर नै छ ।
अहिले जसले जे जे भनेर आफ्ना जिकिर कसे पनि वास्तवमा यो पार्टी फुटको कारण भनेकै नेपाल कम्युनिष्मट पार्टी (नेकपा) को वैचारिक र सैद्धान्तिक स्खलन नै हो । सतह जे जस्ता कुरा आएका भएपनि तत्कालिन एमाले र माओवादी (केन्द्र)जब एक भएको हतारो र स्वार्थपूर्ण एकताको घोषणा भयो कुरा त्यँही खुस्कियो । हतारमा निणर्य गरेर फुर्सदमा पछुताउनु भनेको यही हो । हुनत यी दुई पार्टीले संसदीय ब्यवस्थालाई स्विकार गरेर आफुलाई संसदवादी पार्टीको रुपमा बदलि सकेका भए पनि न्यूनतम कम्युनिष्ट आदर्श, मूल्य मान्यता, वैचारिक र सैद्धान्तिक पक्षमा ख्याल गरेका थिए भने शायद यति चाँडै यो लफडामा फस्ने थिएनन् । हिजोका दिनमा आफुले बोलेका कुरा, जनयुद्ध र जनआन्दोलनको महत्व, शहिद र योद्धाको बलिदान र समपर्ण अनि सर्वहारा वर्गप्रतिको साँचो स्मरण आत्मादेखि नै गरेका थिए भने आफ्नो पद र स्वार्थलाई यति धेरै महत्व दिने थिएनन् होला । आफ्नो दिर्घकालिन कार्यक्रम के हो भनेर आफै अलमलमा परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सामान्य पूजिवादी राजनीतिक सोच र चेत समेत हराउँदै गएको थियो ।
वैचारिक र सैद्धान्तिक प्रशिक्षणको खडेर अनि आम जनतासँगको जन सम्बन्ध त कथाको पात्र जस्तै बन्दै गएको थियो । कसरी हुन्छ मैले कमाउनु पर्छ अनि म शक्तिशाली बन्नु पर्छ भन्ने कमाउ धन्दाको यात्रामा नेताहरु नै दौडे पछिको परिणाम भनेकै यस्तै फुटको रमिता नै हो । जनताको पार्टी भन्दा पनि गुट र ग्याङ बनाउने चक्करका कारण नेताहरु देखि आफुलाई सक्कल दर्जाका कार्यकर्ता हौँ भन्नेहरु जन सम्बन्धको पक्षमा भन्दा पनि धन कमाउने र जेथो जोड्ने एक मात्र मन्त्र जपेर दौडधुप गरेको सत्यलाई कसैले लुकाएर लुक्दैन । कम्युनिष्मट पार्टीमा मात्र होइन कुनै पनि राजनीतिक दल वा पार्टी त्यसको प्रष्ट कार्यक्रम र त्यो कार्यक्रमलाई कार्यान्वयन गराउने तत्परता र ईच्छा शक्ति भएन र त्यसले निरन्तरता पाएन भने त्यो पार्टी नामको मात्र हुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि त्यस्तै भयो । भन्नलाई त नेपालकै ठूलो कम्युनिष्ट पार्टी भयो भनेर हल्ला भयो , जनताले एक पटक कम्युनिष्टको बहुमतको सरकार हेरौँ न त भनेर मतदान पनि गरे र जिताएर पठाए पनि तर पार्टी ठूलो मात्र भयो असल र जनताको आफ्नो बन्न सकेन ।जब कम्युनिष्ट पार्टीमा त्यसका अगुवाहरुमा देश र जनताप्रतिको समपर्णता फिक्का बन्दै जान्छ र उनीहरु सत्ता मोहलाई सर्वोपरि ठान्न पुग्छन् त्यो फगत नामको कम्युनिष्ट पार्टी त होला तर कामको कम्युनिष्ट बन्न सक्दैन आज देखियो फुटको रमिता पनि यही हो नामको नेकपा भयो तर कामको हुन सकेन अन्तत प्रधानमन्त्री र पार्टीका अध्यक्ष समेत रहेका केपी ओलीले संसदनै विघठन गरिदिए । लफडा उनकै पार्टीमा थियो घेराबन्दीका नाममा जनमत माथि नै ओलीले प्रहार गरे ।अहिले एक थरिको तर्क छ प्रधान मन्त्रीले संसद भङ्ग गरेर गल्ती गरेकाछन्, गल्ती मात्र होइन ओलीले संसदको विघठन गरेर महा गल्ती गरेकाछन् तर ओलीसँगै अर्का थरिको तर्क छ प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न दिईएन, आफ्नै पार्टीका नेताहरुले काम गर्न दिएनन् अब हाम्रो प्रश्न छ यदि यो तर्कलाई सहि मान्ने हो भने जनताले पाँच वर्षका लागि सरकार चलाउ भनेर दिएको मत तिम्रो पार्टीको सहज र असहज वातावरणमा जे मन लाग्यो त्यो गर्नका लागि दिएको हो कि असल शासन गर भनेर जनताले भोट हालेका हुन? नेकपा भित्रका नेताले घेराबन्दी गरे वा काम गर्ने वातावरण बनाउन दिएनन् या साथ दिएनन् भने यो विषय त नेकपा भित्रको हो यसमा जनताको मत माथि खेलवाड गर्न पाईन्छ ? के कम्युनिष्ट पार्टी भनेको आफ्नै सरकारलाई सहज हिसाबमा चल्न नदिने, सरकारलाई प्रभावकारी बनाउन पार्टी नेताले सहयोग गर्नु पर्ने हो या यो वा त्यो का नाममा ब्यक्ति मन परेन भनेर सरकार असफल गराउने हो वा पार्टी भित्रको रडाको कारण संसदनै विघठन गर्नु पर्ने हो अब यसको जवाफ ओलीले मात्र होइन दाहाले पनि दिने कि नदिने ?
नेताहरुमा महत्वकाँक्षा बढ्नु , पद र पैसालाई नै सबै थोक मान्न थाल्नु र एउटा गुटको नेता बन्नु भनेको पनि कम्युनिष्ट आदर्शबाट चिप्लनु हो । मान्छे उनै हुन् उनीहरु नै हिजोका दिन कस्ता थिए र कति आदर्श जस्ता देखिन्थे आज उनै मान्छेहरुमा देखिएको जन सम्बन्धको बिच्छेदको क्रम , आफ्नो वर्गीय धरातल र वर्ग पक्षधरताबाट टाढा हुदै एक बारको जुनिमा शक्ति पनि आर्जन गर्ने र मस्ती पनि गर्ने भन्ने अवसरवादी सामन्त सोचको जब विकास हुन्छ न कोही कम्युनिष्ट बन्छ नत उनीहरुको पार्टी कम्युनिष्ट पार्टी नै हुन्छ । अक्सर कम्युनिष्टहरु छलफलमा स्वतन्त्रता र काममा एक रुपमाको स्वाङ पार्ने गर्छन् यो त नेपाल कम्युनिष्ट पार्टीमा कतै न देखियो न भेटियो आफ्नो आरती गाउने को हित र आफ्नो जयजयकार टोली बनाउन नै नेताहरु उत्सुक बने जसको परिणाम एकताको प्रकृया पुरा नहुदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि कम्युनिष्टहरु जुट्न सक्दैनन् भन्ने पुरानो उक्तिलाई साकार पार्दै दाहाल रओली समूहमा विभक्त बन्न पुगेको छ । सतहमा जे जस्ता तर्क र दलिल पेश भए पनि मूल कारण भनेको नेकपामा देखिएको फुटको समस्या भनेको यो पार्टीमा बिलाउदै गएको कम्युनिष्ट विचार र विचारसँग जोडिएका विविध पक्षको स्खलन नै हो । स्पष्ट वैचारिक पक्षको मार्ग चित्र नहुनु र एक अर्काप्रति वर्ग प्रेमको अभाव र हिजो आन्दोलनको भावधारबाट धेरै पर पुग्नाले ब्यक्तिमा अनाबाश्यक महत्वकाँक्षाहरुको जन्म हुन पुग्छ अनि त्यो सामूहिक होइन ब्यक्ति शक्तिशाली बन्न चाहान्छ जब हाम्रोबाट कम्युनिष्टहरु म र मेरा भन्नेमा पुग्छन् त्यसपछिको नतिजा भनेको यस्तै हो जो अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको छ ।
0 22 3 minutes read



