स्वास्थ्य

बुद्धि बंगाराको गुत्थी

के हो बुद्धि बंगारा?
उमेर बढ्दै जाँदा मानिसको दूधे दाँत झरेर नयाँ दांत पलाउँछ। तीमध्ये अन्तिममा पलाउने चपाउने दाँत अथवा बंगारालाई सामान्य भाषामा बुद्धि बङ्गारा भनिन्छ।

अलि बढी उमेर भएपछि १४-२४ वर्षको भएपछि पलाउने भएकोले यस दाँतलाई बुद्धि बंगारा भनिएको हुनुपर्छ। अन्यथा यो पनि एक किसिमको चपाउने दाँत मात्र हो।

मानिसको बुद्धिसँग यो दाँत आउनु/नआउनु अनि हुनु/नहुनुमा कुनै अर्थ रहँदैन। बुद्धि बंगारा सहित एक बयस्क व्यक्तिको मुखमा जम्माजम्मी ३२ वटासम्म दाँत हुन्छन्।

बुद्धि बंगारा पलाउँदा दाँत दुखेर, पाकेर दन्त चिकित्सककहाँ जानु परेको, दुखाइ सहन नसकेर नदुख्ने औषधि लगायत एन्टिबायोटिक नै खानु परेको नमिठो अनुभव पनि धेरैलाई परेको हुन्छ।

बुद्धि बंगारा पलाउँदा किन दुख्छ?
सबैको मुखमा बुद्धि बंगारा पलाउनुपर्छ वा पलाउँछ नै भन्ने हुँदैन। बुद्धि बंगारा पलाउने उमेरसम्म हाम्रो मुखमा अरु सबै दाँत पलाइसकेर बुद्धि बंगाराको लागि ठाउँ नपुगेमा सो दाँत हड्डीभित्र नै फसेर बस्ने, थोरै अथवा आधा मात्र पलाउने, छड्के गालापट्टि पलाउने गर्छ।

समान्यत: थोरै अथवा आधा मात्र पलाउने, छड्के गालापट्टि पलाउँदा सो दाँतमाथिको गिजा अथवा मासुमा इन्फेक्सन भएर मुख सुन्निने, ज्वरो आउने, मुख आँ गर्न नै नसकिएर खान, बोल्न नै समस्या हुने, अझ लामो समय रहेमा बेस्सरी पाकेर बाहिर गालाबाट नै पिप निस्कने, लुडविग इञ्जेनासम्म भएर जीवनमाथि नै खतरा हुने अवस्थासम्म हुनसक्छ।

बुद्धि बंगाराको निदान
हरेक ६-६ महिनामा दन्त चिकित्सककोमा चेकअप गराउँदा मुखभित्र अन्य रोग लगायत आउँदै गरेको बुद्धि बंगाराको स्थिति आकलन गर्न सकिन्छ र त्यसले भविष्यमा दु:ख दिने अवस्था देखिएमा दन्त चिकित्सकले उचित सल्लाह/उपचार गरिदिन्छन्।

बुद्धि बंगारा मुखमा मिलेर नआएको अवस्थामा चिकित्सकको सल्लाहमा निकाल्नु सबैभन्दा उत्तम उपाय हो। कहिलेकाहीं बुद्धि बंगारामाथिको मासु/गिजालाई काटेर पनि दाँतमा हुने इन्फेक्सन/दुखाइ कम गर्न सकिन्छ।

बुद्धि बंगाराको अवस्था थाहा पाउन चिकित्सकको सल्लाहमा एउटा एक्स-रे गर्न सकिन्छ। सामान्य खालको बुद्धि बंगारा दन्त चिकित्सकले निकलिदिन्छन् भने गाह्रो खालको भएमा ओरल म्याग्जिलो-फेसियल सर्जनले निकालिदिन्छन्।

(डा श्रेष्ठ न्याम्स, वीर अस्पतालका कन्सल्ट्यान्ट ओर्थोडोन्टिक्स हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button