खबर

राजस्व छलीको घटना धमाधम बाहिर आउँदै

काठमाडौं,फागुन १७, २०७७
संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ ।

राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जना र वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक रजनीशकुमार गुप्तासहित चारवटा फर्मका सञ्चालकलाई करिब ४० करोड रूपैयाँभन्दा बढी असुलउपर र बिगो दाबी तथा कैद जरिमानाको मागसहित मुद्दा दायर गरेकोे हो ।

विभागले विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी राठीसहित तीन जनाविरुद्ध मुद्दा १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रूपैयाँको मुद्दा दायर गरेको छ । विभागले सोही फर्मका म्यानेजर गिरीधारीलाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूले भीसीटीएससमेतको पालना नगरेको आरोप विभागले लगाएको छ ।

विभागले ती व्यक्ति तथा फर्महरूमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ बमोजिम राजस्व चुहावट गरेको कसुरमा कारबाही हुने बताएको छ ।

विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभाले झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरे पनि अझै राजस्व छलीका घटना बाहिर आउनेक्रम नघटेको विभागले स्विकारेको छ ।राजधानी दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button