१८ फागुन २०७७
चौतारी पोष्ट अनलाइन
ललितपुर। सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द )विप्लव) नेतृत्वको नेकपाले सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।
नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरि २ सदस्ययीय उच्चस्तरीय वार्ता टोली गठन गरेको जनाएका हुन् । स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको थियो।

वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको नेकपाले बनाएको छ । तर आज जारी विज्ञप्तीमा भने वार्ताका एजेन्डाबारे केहि उल्लेख छैन ।
सरकारले भने नेकपासँग वार्ताका लागि मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।
मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउँदै हतियार मुद्दालगायतका विषय भने वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए ।




