मूल खबर

देउवा प्रधानमन्त्री बने पौडेल पक्षलाई सकस

काठमाडौं,फागुन २०, २०७७
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि मुख्य भूमिकामा पुग्नेछ । नेकपाभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ, स्पष्ट भइनसके पनि कांग्रेसभित्रको सत्ता राजनीतिले पार्टीका शीर्ष नेताहरू सरकारमा सहभागिताको पक्ष–विपक्षमा उभिएका छन् ।

नेकपाभित्रको आन्तरिक विवाद दुई वर्षअघि जस्तै अचानक एकतामा परिणत भए कांग्रेस फेरि पनि कमजोर प्रतिपक्षीको भूमिकामा रहनेछ । तर कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने र टिकिराख्ने रणनीतिका कारण शीर्ष नेताहरू अहिले नै सरकारमा सहभागिताबारे पक्ष– विपक्षमा देखिएका छन् ।

सभापति शेरबहादुर देउवा नेकपा विभाजित भएको खण्डमा दुईमध्ये एक समूहसँग मिलेर सरकारको नेतृत्व गर्ने पक्षमा छन् । नेता रामचन्द्र पौडेल भने अहिले सरकारमा जान नहुने पक्षमा छन् । कांग्रेसको सहभागिताबिना नयाँ सरकार गठन नै नहुने अवस्थामा नेकपाको दाहाल–नेपाल समूहसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा पौडेल र उनी निकटका नेताहरू देखिएका छन् ।

कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आएमा संसदीय दलको नेतासमेत रहेका सभापति देउवा नै मुख्य दाबेदार हुनेछन् । मुलुकको कार्यकारी प्रमुखको भूमिकामा देउवा पुग्दा भदौमा हुने पार्टीको १४औं महाधिवेशनमा त्यसको प्रभाव पर्ने पौडेल पक्षधरको बुझाइ छ । त्यस्तो अवस्थामा देउवालाई पार्टी नेतृत्वबाट विस्थापन गर्न अझै कठिन हुने ठम्याइ उनीहरूको छ । त्यसैले पौडेलसहितका नेताले जनताले पाँच वर्ष कांग्रेसलाई विपक्षमा बस्न जनमत दिएको बताउँदै आएका छन् । नागरिक दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button