फागुन २१, २०७७
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लिभरपुललाई पराजित गरेको छ ।
चेल्सीले लिभरपुललाई उसकै मैदानमा १–० को हार चखाएको हो ।
चेल्सीको जितमा मासन माउन्टले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । एनफिल्डमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा घरेलु टोली लिभरपुलले पकड बनाएपनि फिनिसिङ गर्न सकेन ।
खेलको सातौ मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा मोहम्मद सलाहको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा लिभरपुल अग्रता लिनबाट चुक्यो । ११औं मिनेटमा बेन चिलवेलको पासमा टिमो वेर्नरको हाफ भली प्रहार क्रसबारबाट थोरै बाहिरिदा चेल्सीले अग्रता लिन सकेन ।
१६औं मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाको पासमा टिमो वेर्नरको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाए । २४औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि चिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए ।
२८औं मिनेटमा साडियो मानेले सुवर्ण अवसर खेर फाले । ४२औं मिनेटमा मासन माउन्टले एङ्गोलो कान्टेको पासमा गोल गर्दै चेल्सीलाई १–० ले अघि बढाए । ५४औं मिनेटमा बेन चिलवेलको पासमा हाकिम जियाचको प्रहारलाई एन्ड्रिउ रोबर्टसनले गोललाइनबाट बचाएपछि चेल्सीको अग्रता दोब्बर हुन सकेन ।
७६औं मिनेटमा जर्गिन्हो र माउन्टको समन्वयमा वेर्नरको प्रहारलाई गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । ८५औं मिनेटमा रोबर्टाे फिर्मिनोको प्रहारले पोस्टको दिशा लिन नसक्दा लिभरपुल बराबरीबाट चुक्दै पराजित हुन पुग्यो ।
जितसँगै चेल्सी प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । चेल्सीको २७ खेलबाट ४७ अंक पुगेको छ । पराजित लिभरपुलले शीर्ष चारमा उक्लने मौका गुमाउदा ४३ अंक जोडेर सातौ स्थानमा रहेको छ ।hamrokhelkud/from



