कला

हाम्रो इन्डस्ट्री चलायमान बनाउन विदेशी फिल्म किन कुर्ने ? : निश्चल बस्नेत

फिल्मीखबर, काठमाण्डौ, 2021/03/11
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्र क्षेत्रको विकासका लागि गठन भएको चलचित्र विकास बोर्डले सूचना तथा सञ्चार मन्त्रालयसँग सम्वन्य गरेर सिनेमा हलमा नेपाली फिल्म रिलिजको वातावरण बनाउनु पर्ने बताएका छन् । अहिले स्टूडियो निर्माण गर्नेभन्दा फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म रिलिजको वातावरण बनाउन आवश्यक रहेको उनको सुझाव छ ।

बिहीवार ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने- ‘यो बेला सबैभन्दा बढी काम गर्नुपर्ने चलचित्र विकास बोर्डले हो । नेपालमा स्टुडियो बनाउने कुराहरु उठिरहेको छ । त्यो तत्काललाई थाती राखौं । इन्डस्ट्री चलायमान भयो भने स्टुडियोमा गएर खिचौंला । अहिले फिल्म रिलिज गर्न निर्मातालाई कसरी सजिलो बनाउने भनेर बोर्डले पहल कदमी चाल्नुपर्छ ।’

फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारको मात्र मुख हेरेर बस्न नहुने उनको तर्क छ । निश्चल अगाडि भन्छन्, ‘फिल्म क्षेत्रलाई अगाडि बढाउन हामी आफैंले केही गर्ने की ? यो अवस्थामा कसै न कसैले फिल्म चलाउने रिक्स उठाउनै पर्छ ।’ नेपाली फिल्म रिलिज गर्न विदेशी फिल्म कुरेर बस्नुले नेपाली फिल्मकर्मीहरु कुन हदसम्म कमजोर रहेछन् भनेर प्रस्ट्याएको उनको कथन छ ।

‘धेरै निर्माताहरु विदेशी फिल्म आएपछि नेपाली फिल्म रिलिज गर्ने सोचमा बसेका छन् । निर्माताको कोणबाट त्यो सही पनि होे । त्यो सोच्नु पनि पर्छ,’ उनले अगाडि भने- ‘तर, हाम्रो इन्ड्रस्टी चलायमान बनाउन हलिउड वा बलिउडका फिल्ममा भर पर्नुपर्छ भने हामी कति कमजोर रहेछौं भन्ने प्रस्ट हुन्छ । यो समयमा फिल्म रिलिज गर्नका लागि निर्माताहरुलाई सबै पक्षले हौसला दिनुपर्छ ।’

कोरोना महामारीपछि अरु क्षेत्र सजिलै सामान्य अवस्थामा फर्किए पनि सिनेमा घरहरुलाई पुरानै लयमा फर्किन समस्या भइरहेको उनले बताए । यो समयमा फिल्म रिलिजका लागि आँट नगरे दर्शकहरुले फिल्मकर्मीहरुलाई पनि विश्वास नगर्ने उनी बताउँछन् । यो असहज परिस्थितिमा फिल्म क्षेत्रका व्यक्तिहरु एक ढिक्का भएर एकले अर्काको फिल्मलाई साथ दिनुपर्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button